भारतमा कोरोना संक्रमितको संख्या ३७ हजार नाघ्यो
भारतमा कोभिड–१९ संक्रमितको संख्या ३७ हजार ३३६ पुगेको जनाइएको छ । जोन हप्किन्स विश्व विद्यालयले जारी गरेको तथ्यांकअनुसार भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २१८ पुगेको छ । कोरोना भाइरस संक्रमणको कारण भारतभर २४ घण्टायता ७१ जनाको मृत्यु भएको हो ।
भारतमा २४ घण्टामा २ हजार २९३ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । उक्त संक्रमितको संख्या हालसम्मको नै सब भन्दा बढी भएको मन्त्रालयले जनाएको छ ।
यी संंक्रमितहरूमध्ये ९ हजार ९५१ जना उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ २७ हजार ३८५ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत छन् । भारतको महाराष्ट्रमा कोरोना भाइरस संक्रमितको संख्या ११ हजार ५०६ रहेको र ४८५ जनाले ज्यान गुमाएका छन् । एक हजार ८७९ उपचारपछि फर्किएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । महाराष्ट्रपछि गुजरात यस भाइरसको संक्रमण दोस्रो स्थानमा रहेको र यहाँ ४ हजार ७२१ संक्रमित रहेका छन् । यस राज्यमा ७३५ जना उपचारपछि घर फर्किएका छन् ।
गुजरातमा कोरोनो संक्रमणको कारण २३६ जनाको ज्यान गएको छ । गुजरातपछि यस भाइरसको संक्रमण तेस्रो स्थानमा दिल्ली रहेको छ । भारतको अन्य कैयौ राज्यमा कोरोना भाइरसको संक्रमण रहेको छ । त्यसैकारण भारतमा पुनः लकडाउन थपिएको छ ।
भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको छ । भारतले शुक्रबार मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको हो । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो ।











