अमेरिकामा बन्दुक चलाउन जानेको गफ लगाउँदा कलेजबाट नेपाली विद्यार्थी निष्कासित

शिकारी हजुरबाको संगतले सानैदेखि बन्दुक चलाउन जानेको गफ गरेको विषयलाई गलत अर्थ लगाएर अमेरिकामा एक नेपाली विद्यार्थी कलेजबाट निस्कासित भएका छन्। साथीसँग बन्दुक चलाउन जानेको विषयमा कुरा गरेका २१ वर्षीय सुप्रज्ञ रिजाललाई न्यू हृयाम्पसायर राज्यस्थित न्यू लण्डनमा रहेको कोल्बी–सोयर कलेजले निष्कासन गरेको हो।

न्यू हृयाम्पसायर युनियन लिडरले रिजाललाई ३ अक्टोबरमा पक्राउ गरेर प्रहरीले दुई दिनसम्म हिरासतमा राखेर छोडिदिएको जनाएको छ। बन्दुकको कुरा गर्दै साथीलाई धम्की दिएको आरोपमा प्रहरीले पक्राउ गरेपछि कलेजले उनलाई निस्कासन गरेको हो।

साँझ खाना खाने बेला एक साथीसँग आफ्नो बाल्यकाल र हजुरबाको शिकार कौशलबारे कुरा गरेको रिजालले बताएका छन्। तर, उनीहरुले अर्कै अर्थ लगाएर त्यसलाई धम्कीका रुपमा लिएको रिजालको दाबी छ।

‘मेरो हजुरबाले पहिले नेपालमा शिकार खेल्ने गर्थे, हजुरबाले नै मलाई बन्दुक चलाउन सिकाएका हुन्’, रिजाललाई उद्धत गर्दै न्यू हृयाम्पसायर युनियन लिडरले लेखेको छ, ‘म यसमा बन्दुक चलाउन निकै सिपालु छु।’

प्रहरीले भने रिजालले हन्टर फिट्जसिमोन्स नामका ती विद्यार्थीलाई आफूसँग अनुमतिप्राप्त बन्दुक भएको र ‘कलेजका कसैले पनि केही गर्न नसक्ने’ भन्दै धम्क्याएको बताएको छ।

न्यू लण्डन प्रहरीका सर्जेन्ट डेभिड केथले लेखेको रिपोर्टअनुसार फिट्जसिमोन्सले यस विषयमा क्याम्पसमा जानकारी गराएका थिए र क्याम्पसका सुरक्षा अधिकृतहरुले प्रहरीलाई खबर गरेका थिए।

रिजालमाथि कलेजमा हुन गइरहेको साहित्यिक कार्यक्रममा मानिसहरुलाई गोली प्रहार गर्ने योजना बनाएको आरोपसमेत लगाइएको छ।

क्याम्पसका सुरक्षा अधिकृत विल्ली ब्याकोटले रिजालले कलेजमा मदिरापान र झैझगडा गरी अनुशासन भंग गरेको रेकर्ड भएको बताएका छन्। रिजालले अमेरिका र गोरा वर्णका मानिसलाई घृणा गर्ने उनको दावी छ।

रिजालले ती सबै आरोपहरु झुटो भएको दाबी गर्दै आफूसँग बन्दुक नभएको र बन्दुक राख्ने अनुमति पनि नभएको बताएका छन्।

प्रहरीले पक्राउ गरेको कारणले नै आफूलाई कोल्बी–सोयर कलेजले निष्कासन गरेको रिजालले बताए। कलेजले भने रिजालको बारेमा कुनै प्रतिक्रिया दिन मानेन।

रिजालमाथि लगाइएको धम्कीको आरोप प्रमाणित भएमा उनलाई नेपाल फर्काइन सक्ने सम्भावना छ।