बन्द गार्मेन्ट धमाधम खुल्दै, ५० प्रतिशतले उत्पादन बढ्याे
जोखिम बढ्दै गएपछि एउटा कोठा लिएर गार्मेन्ट संचालन गर्नेहरू पनि बढेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघले साना तथा मझौला गार्मेन्टहरू पुनः खुल्न थालेको बताएको छ ।
महासंघका अनुसार बन्द अवस्थामा रहेका गार्मेन्टहरू बजारमा लत्ताकपडाको अभाव हुने देखिएसँगै संचालनमा आएका हुन् । संघले हाल बन्द भएका ३० प्रतिशत गार्मेन्टहरू पुनः संचालनमा आएको जनाएको हो ।
पछिल्लो समय लत्ताकपडादेखि घरका सम्पूर्ण सामान अनलाइनबाट खरिद गर्न थालेपछि लत्ताकपडाको माग बढ्न थालेको व्यवसायीहरू बताउँछन् । नेपाली उत्पादनहरूलाई अनलाइन डेलिभरी संस्थाहरूले पनि स्थान दिन थालेपछि धमाधम गार्मेन्ट संचालनमा आएका हुन् ।
उत्पादित सामान विदेश मात्र निर्यात गर्दै आएका कपाली ५ महिने लकडाउनले नेपालमा नेपाली उत्पादनले बजार लिन सक्ने प्रचुर सम्भावना खडा भएको बताउँछन् ।
उनले भने, ‘१ सय २० दिने लकडाउन र हालै जारी भएकाे निषेधाज्ञाले गर्दा विदेशबाट सामान आयात हुन सकेको छैन । यो नेपाली लत्ताकपडा उत्पादकका लागि राम्रो अवसर हो ।’
उनले स्वदेशी उत्पादनले बजार लिने समय भएकैले नेपाली बजारका लागि लत्ताकपडा उत्पादन गर्न सुरू गरेको बताए ।
बन्द अवस्थामा पुगेको नेपाल गार्मेन्टले अहिले नेपाली बजारमा माग बढेसँगै उत्पादनलाई बढाउने सोचमा पुगेको संचालक कपालीले बताए ।
तयारी पोशाक उत्पादन संघका अनुुसार अहिले नेपालमा साना र ठूला गरी करिब २ हजार ५ सय गार्मेन्ट छन् भने उपत्यकामा मात्रै ७ सय गार्मेन्ट छन् । यी गार्मेन्टमा ९ हजारभन्दा बढी कामदारले राेजगारी पाएका छन् ।
यता जनरल फेडेरेसन अफ नेसनल ट्रेड युनियन (जिफण्ट) का बागमती प्रदेश अध्यक्ष रामहरि नेपाल लकडाउनमा अधिकांश तयारी पोशाक उत्पादन गर्ने गार्मेन्टहरू संचालनमा आएको बताए ।
उनले भने, ‘संकटकालको बेलामा ठूलाठूला कम्पनीहरू बन्द भइरहँदा बन्द अवस्थामा पुगेका गार्मेन्टले चाहिँ नयाँ जुक्ति निकालेका छन् । यसले दुई दशकदेखि खस्किएको नेपाली उत्पादनलाई पुनः जीवन दिने देखिन्छ ।’ अहिले सामाजिक दूरी कायम गर्नुपर्ने हुँदा गार्मेन्टहरूले घरघरमै सामान पुर्याएर काम गर्ने व्यवस्था मिलाएका छन् ।
अध्यक्ष नेपालले लकडाउनमा जागिर गुमाएर बसेका बेराजगारहरूलाई पनि जागिरको व्यवस्था गर्दै नेपाली उत्पादनकर्ताहरू घरघरमा पुग्दा उत्पादन सामान्य समयको भन्दा ५० प्रति धेरै भएको बताउँछन् । उनका अनुसार, उपत्यकाका गल्लीगल्लीमा अहिले फेरि नेपाली लत्ताकपडा उत्पादनका कामहरू भइरहेको छ ।
विदेशी ब्राण्डमा नेपाली उत्पादन
नेपाली बजारमा जिन्सको पाइन्ट, टिर्सट, ब्यागजस्ता सामानमा ७० प्रतिशत नेपाली उत्पादनले धान्ने गरेको अध्यक्ष नेपाल बताउँछन् ।
‘३ देखि ४ वर्ष भयो जिन्सको लत्ताकपडा, ब्याग आदि स्वदेशी उत्पादनले नेपाली बजार धानिरहेको छ,’ उनले भने, ‘अहिले चीन, थाइल्याण्डलगायतका देशबाट ३० प्रतिशत मात्रै आयात हुँदै आएको छ । ७० प्रतिशत स्वदेशी उत्पादनले बजार धानिरहँदा यो तथ्यांक भने हामीले लुकाइरहनुपरेको छ ।’
स्वदेशी उत्पादनमा ग्राहकको विश्वास नहुँदा नेपालमा उत्पादन गरेर पनि नेपाली ब्राण्डको साटो विदेशी ब्राण्डको नाम राख्नुपरिरहेको व्यवसायीहरू बताउँछन् ।
प्रचारप्रसारमै गल्ती
उत्पादन बजारमा गएपछि व्यवसायीले नेपाली उत्पादनलाई पनि विदेशी भन्दै बेच्दै आएका छन् । विदेशी लत्ताकपडा गुणस्तरीय हुने भन्दै विदेशी उत्पादनको गुणगान गाउँदा ग्राहकको विश्वास पनि विदेशी उत्पादनमै बढेको उत्पादनकर्ताहरूको भनाइ छ ।
अध्यक्ष नेपाल भन्छन्, ‘सामानकोे गुणस्तर उस्तै भए पनि नेपाली भन्नासाथ किन्दै किन्दैनन् । विदेशी भनेपछि मात्रै किन्छन् । त्यसैले व्यापारीले पनि विदेशी ब्राण्डकै गुणगान गाउँदै नेपाली उत्पादन बेच्छन् ।’
नेपाली उत्पादनकर्ताहरूले उत्पादन बिकाउनका लागि पनि नेपाली ब्राण्डको साटो चलेको विदेशी ब्राण्डको नाम राख्नुपर्ने बाध्यता रहँदै आएको छ ।
काेराेनाले दियाे गार्मेन्टलाई पुनर्जीवन
गार्मेन्टलाई पुनर्जीवन दिएर नेपाली बजारमा स्वदेशी उत्पादन भरिभराउ पार्ने उपयुक्त अवसर काेराेना भाइरसले दिएकाे छ । काेराेना राेकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेकाे लकडाउन र त्यसपछि लागू निषेधाज्ञाका कारण विदेशबाट तयारी पाेशाक आयात नभएपछि नेपाली गार्मेन्टकाे भाग्य चम्किएकाे हाे ।
त्यस्तै, तयारी पोशाक उत्पादक सालिकराम सुवेदी पनि लकडाउनको समयमा गार्मेन्टलाई पुनर्जीवन दिन लागिपरिरहेका छन् । दैनिक ५ देखि ७ जनालाई काम गराएर उनले दैनिक रूपमा तयारी पाेशाक उत्पादन गरिरहेका छन् ।
बन्दको समयमा अधिकांश श्रमिकले रोजगार गुमाउँदा गार्मेन्टमा कार्यरत श्रमिकहरू भने त्यसरी बस्नुपर्ने अवस्था नरहेको बताए । ‘काम गर्न चाहनेलाई काम दिन अझै सक्छौँ । चाहन्छु मात्र भन्नुस्, आफैँ सामान पुर्याएर काम दिन्छौँ,’ उनले भने, ‘यो समयमा नेपाली उत्पादन बजारमा पुर्याउन सकियो भने विदेशबाट आयात आफैँ विस्थापन हुन्छ ।’
सुवेदीले बन्दको समयमा माग बढिरहँदा उत्पादनलाई पनि वृद्धि गरेका छन् । नाजुक बन्दै गएकोे व्यवसायलाई लकडाउनले पुन: उठ्ने मौका दिनेमा विश्वस्त छन् उनी ।











