नातावादका कारण म डिप्रेसनमा थिएँ
आईतबार बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्माहत्या गरे । केही समयदेखि डिप्रेसनमा रहेका सुशान्त आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएका थिए।
सुशान्तको मृत्युपछि नायिका कंगना रानावतले सुशान्तको मृत्युको विषयमा बेलेकी छन् । उनले फेसबुक लाइभमार्फत् सुशान्तको आत्महत्याको कारण चलचित्रकर्मी नै भएको बताएकी छन् । उनले राम्रो काम गर्ने र इमान्दार कलाकारले चलचित्र नपाउँदा डिप्रेसनमा पुगेको र आफूलाई समाप्त गरेको बताएकी छन् ।
अहिले नेपालमा पनि यस विषयमा आवाज उठिरहेको छ । नेपाली चलचित्र क्षेत्रमा व्याप्त नातावादका कारण कतिपय राम्रो काम गर्ने कलाकारहरू डिप्रेसनमा जानुपरेको नेपाली कलाकारहरूको भनाइ छ ।
यस्तैमा नायिका वर्षा शिवाकोटीले पनि आफ्नो फेसबुकमा एउटा स्टाटस पोस्ट गर्दै आफू पनि यस्तै कारणले डिप्रेसनमा जानुपरेको उल्लेख गरेकी छन्।
उनले लेखेकी छन्, ‘नातावाद सबैतिर छ तर चलचित्र क्षेत्रमा छर्लङ्गै छ । नातावाद मात्र होइन, यहाँ समूह बनाउने, प्रेम, तुलना, पत्रकार र कलाकारबीचको नचाहिँदो सम्बन्ध पनि समस्याको रूपमा खडा भएको देखेकी छु । यो कुराले चलचित्र क्षेत्रलाई असर गरेको छ । यसकै कारण म डिप्रेसनमा पनि गएकी थिएँ ।’
चलचित्र क्षेत्रमा सामाजिक सञ्जालका भएका फलोअर्सलाई हेरेर चलचित्र अफर गर्ने गरिएको वर्षाको गुनासो छ । उनले भनेकी छन्, ‘यहाँ फलोअर्स धेरै भएका वा युट्युबमा धेरै भ्युज गएका कलाकारलाई स्टार कहल्याइन्छ । यहाँका स्टार किडको मूल्याङ्कन तपाईंहरूले गर्नुभएकै छ । अब्बल र कमजोर छुट्याउने काम तपाईंहरूकै ।’
नायिका वर्षाले केही समय अगाडि पनि यस विषयमा बोलेकी थिइन् । त्यो बेला वर्षालाई चलचित्र नपाउने डर बढेको थियो । तर, पछिल्लो समय आफूलाई चलचित्रका लागि समय मिलाउन गाह्रो भएको उनले लेखेकी छन् ।
चलचित्र क्षेत्रको नातावादको विषयमा अन्य कलाकारहरूले पनि आवाज उठाइरहेका छन् ।











