टुक्रिएको प्रेम कथा : वेस्ट अप लक, मे गड ब्लेस यु (भाग -२)

सबै बुझेर पनि म एक गरीब, पिछडिएकी वर्गकी परिवारकी छोरी तिमीसँग सम्बन्ध गाँस्न खोज्नु योभन्दा ठूलो भूल मेरो जीवनमा केही  हुनै सक्दैन भन्दै आफैलाई धिक्कार्दै थिइन् उनी।

‘कल्पना’ संसारका कति कुराहरू चाहेर पनि नपाउनु यो प्रकृतिको पनि दोष हो। मलाई राम्ररी थाहा छ तिमी निर्दोष हौ। तर, तिमीमा त्यस्तो के छैन जुन उच्च खानदानी नारीमा छ? भन , के कुराको कमी छ तिमीमा? …..नचाहेर पनि अरूकै खुसीका लागि बाँच्नुपर्ने बाध्यता हुँदोरहेछ। जन्मसँगै मृत्युसँगको सम्झौता पूरा नभएसम्म चाहेर पनि आफ्नो प्राण फाल्न सम्भव रहेनछ सम्झाउँदै भनें मैले। गहबाट तप्किएका आँसु पुछ्दै ‘दिपु मेरो कारण अब यो रूढिवादी परम्पराले जकडिएको समाजमा तिम्रो जीवनमा कुनै बाधाअड्चन र अप्ठ्याराहरू आउने छैनन्।

छातीमा हात राखेर दृढविश्वासका साथ भन्छु– यो समाजलाई मैले पनि राम्ररी बुझेकी छु। अब यी सबै हाम्रा प्रेमकहानी तिमीले पनि भुल्नुपर्छ र मैले पनि। तिमी आफ्नै छुट्टै संसारमा रमाएर बाँच्नुपर्छ । तिम्रा ती खुसीहरूसँगै मेरो पनि यो मन रमाउने छ। म कदापि तिम्रो खुसी खोस्न आउने छैन। न्यानो स्पर्शसँगै भनिन्।

तिमी कति महान छ्र्यौ है भन्दै उनको गालामा स्पर्श गर्दै रुन्चे बनावटी हाँसो हाँसिदिएँ। रात छिप्पिसकेको थियो। पहाडी गाँउका गरीव बस्तीहरूमा पनि मौनता छाइरहेको थियो। बिस्तारै बिस्तारै भारी पाइलाहरू अगाडि बढायौ दुवैले सदाझै। आँगनसम्म पुरयाउन गएँ दलानको डील टेक्नु पूर्वै पछाडि फर्केर इसारामै बिदाइका हातहरू हल्लाइन् अनि हात हल्लाएर स्वीकार्दै लागे आफ्नै बासस्थानतिर।

असोज महिनाको जाडो बिहानको करिब ८ बजिसक्दा पनि सूर्यका किरणले आफ्नो प्रभुत्व जमाइसकेका थिएनन्। आँगनभरि मानिसहरूको घुँइचो थियो। घरबाट टाढा हिँडेर जन्ती जानुपर्ने भएकाले  ९ बजेतिरै सबै आफन्त इष्टमित्र, कुलकुटुम्ब, साथीभाइ जम्मा भैसकेका थिए। यति ठूलो भिडमा कताकता केकेको कमी भएको र एकप्रकारको निरास महसुस गरिरहेको थिएँ मैले। कल्पना जे जस्तो भए पनि मेरो बिहेमा त आऊ ल? भनेर निम्तो थमाउँदा – ‘दिपु, अवश्य आउँछु नि तिम्रो खुशी नै मेरो खुशी त हो नि हैन र?’ भन्दै उही पुरानै मन्द मुस्कान मुस्काएकी थिइन्।

 निम्तो थमाउँदा उनलले, जो झल्किरह्यो नयनभरि, नभन्दै त्यही भीडबाट हस्याङफस्याङ गर्दै नजिकै आएर मुसुक्क मुस्काउँदै  ‘दिपु वेस्ट अप लक, मे गड ब्लेस यु’ भनिन्। मनको बाँध रोक्न हम्मेहम्मे भयो हर्षका आँसुले परेली चुमे। यसैयसै मन बहकिएर आयो उनको त्यो प्रेमप्रतिको त्याग र समर्पणप्रति म लज्जित भएर मुख रातो पारें ता कि मायाप्रेम बुझेको र अनुभव गरेकाले जो कोहीले सहजै पढ्न सक्थे मेरो चेहरा। फेरि पनि गरौं मन पार्दै स्वीकृतिको संकेत गर्दै प्रस्थान गरियो एक हूल जन्ती लिएर। जिन्दगीले यात्रा मोडिसकेको थियो।

अब परिवारमा अलग्गै जिम्मेवारीको बोझ काँधमा थपिएको थियो। घरपरिवारमा बेग्लै किसिमको खुसी र आनन्द छाएको थियो। परिवारको एक्लो छोरो त्यसमा पनि बाबाआमाको हेराइ र रोजाइको बुहारी भित्रयाउन पाउँदा संसारका ती भाग्यमानी बाबाआमालाई मिल्ने खुसी मिलेको थियो मेरा बाबाआमालाई पनि यस्तो लाग्थ्यो। बेग्लै किसिमको संसारमा रमाइरहेको थियो हाम्रो सानु परिवार।

बिहेको पर्सिपल्ट बिहान सबेरै गाँउभरि हल्लीखल्ली भयो। कल्पना घरमा छैनन् रे। बिहान ओछयानमा हेर्दा भेटिइनन् रे। यस्तै आवाजहरू गावैभरि गुन्जिरहेका थिए। एक्कासि आङ सररर फुलेर आयो। एउटी साहसी र असल चरित्र भएकी केटी हुन् –अहँ यो हुन सक्दैन। फेरि जुटियो सबै मिलेर उनको खोजीमा । आखिर उनि लासको रूपमा भेटिइन् । भिड एकाएक चित्कार र रोदनमा परिणत भयो । मृत्युको रहस्य बुझ्नमा सबै आतुर थिए। लागिरहेको थियो उनको मृत्युको दोषी अरू कोही नभएर म स्वयं आफै थिएँ।

 भित्रभित्रै आफैलाई धिक्कारे कतै हाम्रै प्रेम उनको गलाको पासो त बनेको हैन? त्यतिखेरै आफ्नो घाँटी आफैं दबाएझैं भयो। आखिर उनले पनि पूर्ण सहमति जनाएकी थिइन् मेरो बिहेका लागि। यस्तैयस्तै सोच्दै थिए। उनले जीवनको अन्तिम घडीमा एउटा नोट यसरी लेखेकी थिइन्–

‘दिपु’ मेरो संसारको सबैभन्दा ठूलो खुशी र संसारको सबैभन्दा प्यारो मान्छे तिमी नै थियौ। मैले हरेक पल्ट आफू हारेर तिमीलाई जिताएकी थिएँ। आफू रोएर हसाएकी थिएँ । तिम्रा आँसु मलाई सह्य हुँदैनथे। मैले यो निर्णय पहिले नै गरिसकेकी थिएँ जुन दिन तिमीले हाम्रो प्रेमको अन्त्य भएको घोषणा तिम्रै मुखबाट सुनाएका थियौ। तिम्रो खुसी देख्नु थियो। मेरो यो मृत्युमा आँसु नझार्नु ल? असल दाम्पत्य जीवनको उदाहरण दिँदै यो उचनिच, जातभात, धर्म र छुवाछूतको भेदभावमा जगडिएको हाम्रो समाजको संकुचित भावनालाई डटेर निर्मूल पार्नुपर्छ जुन तिमीले बारबार भन्ने गथ्र्यौ। अन्तमा तिमी र तिम्रो परिवारको उज्ज्वल भविष्यको कामना गर्दै संसारबाट बिदा लिँदै छु।

उही तिम्रो बन्न नसकेकी कल्पना !

(नोट– कथाका पात्रहरू सबै काल्पनिक हुन। यदि कसैको वास्तविक जीवनमा मेल खान गएमा एउटा संयोग मात्र हुनेछ।)