प्रमोद खरेलको ‘छाती चिरेर’ ट्रेण्डिङमा (भिडियोसहित)

गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत ‘छाती चिरेर’ सार्वजनिक भएको छ । सोमबार साँझ गायक खरेलले आफ्नो युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक गरेका हुन् । प्रमोद आफैँले लेखेको यस गीतमा हरि लम्सालले संगीत दिएका छन् ।

सार्वजनिक भएको छोटो समयमा नै गीतको भिडियो युट्युब ट्रेण्डिङमा पर्न सफल भएको छ । अहिले गीतले राम्रो भ्युजसँगै ट्रेण्डिङको उकालो यात्रा तय गरिरहेको छ ।

दर्शक/श्रोताले गीत र भिडियो दुबै उत्कृष्ट भएको भन्दै प्रतिक्रिया दिइरहेका छन् । ‘स्याड भर्जन’मा तयार भएको गीतको भिडियोमा गायक खरेल र अभिनेत्री ऋचा शर्मा फिचर भएका छन् । भिडियोमा उनीहरूको कामको पनि निकै तारिफ भएको छ ।

दीपकप्रसाद आर्चायको कन्सेप्ट तथा निर्देशन रहेको भिडियोमा एक श्रीमतीले आफ्नो श्रीमानलाई गरेको प्रेमलाई देखाइएको छ । करिब साढे ७ मिनेटको भिडियोमा निर्देशक आचार्यले राम्रो कथा प्रस्तुत गरेका छन् । कथाको प्रस्तुतीलाई पनि दर्शकले तारिफ नै गरेका छन् ।

सार्वजनिक भिडियोलाई अर्जुन तिवारी र टिमले खिचेका हुन् भने सुरेश काफ्लेले ड्राेन सट खिचेका छन् । भिडियो सम्पादन तथा कलर भने चन्दन दत्तले गरेका हुन् ।