मिलन चाम्सको चलचित्रमा पनि साम्राज्ञी

लकडाउनको समय अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह केही विवादित बनिन् । अभिनेता तथा निर्माता भुवन केसीमाथि लगाएको आरोपका कारण साम्राज्ञी विवादमा मुछिएकी थिइन् ।

उक्त विवादमा खरो रूपमा उत्रिएकी साम्राज्ञीले अब चलचित्रमा नै काम गर्दिनन् भन्ने चर्चा पनि नचलेको होइन । कतिपयले त अब साम्राज्ञीलाई चलचित्रको खडेरी लाग्नेसमेत अड्कल काटेका थिए ।

तर, लकडाउनकै समयमा साम्राज्ञीले तीनवटा चलचित्रमा काम गर्ने पक्का गरेकी छिन् । साम्राज्ञीले तीनवटै चलचित्रका लागि लिखित सम्झौता गरिसकेकी छन् ।

केही समयअगाडि साम्राज्ञीले मनीष राउत, आना शर्मालगायतका कलाकारसँग स्क्रिन सेयर गर्ने गरी चलचित्रमा अनुबन्धित भएकी थिइन् । उक्त चलचित्रको नाम पक्का भएको छैन । त्योसँगै साम्राज्ञीले ुरेड वाइनु नामक चलचित्रमा अभिनेता पल शाहसँग स्कृन सेयर गर्ने पक्का भइसकेको छ ।

त्यस्तैमा, साम्राज्ञीले निर्देशक मिलन चाम्सको नयाँ चलचित्रका लागि पनि अनुबन्धित भएकी छिन् । प्रेमकथामा आधारित रहेर निर्माण हुने यस चलचित्रका लागि साम्राज्ञीले लिखित सम्झौता गरिसकेकी छिन् ।

निर्देशक चाम्सका अनुसार साम्राज्ञीले यस चलचित्रमा नव(नायकलाई आफ्नो जोडीका रूपमा पाउनेछिन् । चलचित्रको छायांकन आगामी नयाँ वर्षबाट सुरु गर्ने निर्माण पक्षको लक्ष्य छ ।