विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरूले होटल क्वारेन्टाइनमा बस्नु नपर्ने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरूले होटल क्वारेन्टाइनमा बस्नु नपर्ने स्पष्ट पारेका छन् ।

विदेशबाट आउने नागरिकले होटल क्वारेन्टाइनमा बस्नुपर्ने सरकारी निर्णयको आलोचना भएसँगै पर्यटनमन्त्रीले पीसीआर रिपोर्ट नेगेटिभ भएकाहरू सिधै घर जान पाउने स्पष्ट पारेका हुन् ।

सरकारले विभिन्न देशमा अलपत्र नागरिकलाई उद्धार गरी होटल क्वारेन्टाइनमा ७ दिन राख्ने निर्णय गरेको थियो ।

कोरोना संक्रमणको दर कम भएका र पीसीआर परीक्षण सहज भएका मुलुकबाट आउनेहरूले पीसीआर रिपोर्ट नेगेटिभ भएपछि मात्रै नेपाल ल्याइने र उनीहरूले होटल क्वारेन्टाइनमा बस्नु नपर्ने उनले बताए ।

‘जहाँ पीसीआर परीक्षण सहज हुन्छ र कोरोना संक्रमणको दर पनि कम छ, त्यस्तो देशबाट पीसीआर परीक्षण गरेका प्यासेन्जर बोकेर मात्र आउने, त्यसका लागि नियमित उडानहरू खोल्ने तयारी भएको छ १६ भदौ ९सेप्टेम्बर १० बाट । कुनकुन देशहरू भन्ने भोलि फाइनल सूची सार्वजनिक हुन्छ । मलेसिया यूएई, दक्षिण कोरिया, जापान, हङकङलगायत हुन सक्छन्०ु उनले भने, पीसीआर गरेका यात्रुहरूले सरकारले बेवसाइटमा राखेको फर्म भर्नुपर्छ । नेपालको ठेगाना स्पष्ट लेख्नुपर्छ । नेपाल आइसकेपछि एयरपोर्टबाट रिपोर्ट नेगेटिभ देखाउनुभयो भने १४ दिन आफ्नो घरमा होम क्वारेन्टाइनमा बस्ने प्रतिवद्धतासहित घर जान दिइन्छ ।’

पीसीआर परीक्षण सहज नभएका मुलुकहरूका लागि उद्धार उडान गरिने उनले बताए । पीसीआर परीक्षण नगरी नेपाल आउने नागरिकले होटल क्वारेन्टाइनमा बस्नुपर्ने उनको भनाइ छ । अर्को देशबाट आएर क्वारेन्टाइनमा बस्दा व्यक्तिले नै खर्च व्यहोर्नुपर्ने नियम विश्वका अन्य मुलुकमा समेत रहेको उल्लेख गर्दै उनले ११ हजारमा ७ रात र ८ दिनको होटल क्वारेन्टाइनमा बस्न सकिने बताए ।

‘७ रात र ८ दिनको प्याकेज ११ हजारमा हुन्छ, यदि १ कोठामा २ जना बस्ने हो भने । सिंगल बस्ने हो भने १७ हजार ५ सय लाग्छ । दिनको १५ सय रुपैयाँको हाराहारीमा हुन्छ । होटलहरू स्वास्थ्य मापदण्ड पूरा गरेको हुनुपर्छ, गेट र कम्पाउण्ड भएको होटल, खुला ठाउँ भएको, सफा भएको, कोठामा टीभी र वाईफाई हुनुपर्छ । एट्याच ट्वाइलेट र बाथरुम हुनुपर्छ । तातोपानी पिउने व्यवस्था गर्नुपर्छ । ४ पटक खाजा र खाना दिनुपर्छ । त्योभन्दा महँगोमा बस्छौँ भन्नेका लागि २५ सय र ४ हजारभन्दा बढीका होटलहरू पनि छन्,’ उनले भने ।

विदेशमा अलपत्र परेका, स्वदेश फर्किन सक्ने कुनै पनि आधार नभएका नागरिकलाई भने सरकारी खर्चमा उद्धार गरिने उनले बताए ।

‘मान्छेहरूले भन्छन् सरकारले खर्च व्यहोर्नुपर्छ भनेर, हो सरकारले व्यहोर्ने हो । तर कसका लागि भन्दा सक्दै नसक्नेका लागि । विदेशमा अलपत्र परेका, फर्कने कुनै आधार नभएका व्यक्तिहरूलाई श्रम कल्याणकारी कोषबाट सरकारले टिकट पनि काट्छ । यहाँ आएर होटल क्वारेन्टाइनको विषय पनि सरकारले व्यहोर्छ र पीसीआर खर्च पनि सरकारले व्यहोर्छ,ु उनले भने, ुत्यसका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको कूटनीतिक नियोगसँग समन्वय गरेर लिस्ट फाइनल गर्छ । त्यस्तै, कुनै कम्पनीले आफ्नो कम्पनीबाट मान्छे पठाउँछ भने उहाँहरूले टिकट पनि काट्नुपर्छ । कम्पनीले नै क्वारेन्टाइन बस्दा लाग्ने खर्च व्यहोर्नुपर्छ । पीसीआर परीक्षण गरी पठाउँछु भन्यो भने पनि सरकारले त्यहीअनुसार पनि उद्धार गर्छ ।’

पीसीआर अनिवार्य गरिएका देशहरूबाट कोरोना पोजिटिभ भएको वा परीक्षण नगरेको व्यक्तिलाई ल्याइए सम्बन्धित एयरलाइन्स कम्पनीले सबै यात्रुहरूको क्वारेन्टाइन खर्च व्यहोर्नुपर्ने उनले बताए । नेपाल घुम्न आउने पर्यटकहरूका लागि नभएर विदेशमा अलपत्र परेका नेपाली, नेपाल आउनैपर्ने कूटनीतिक नियोगका पदाधिकारी र विकास साझेदार संस्थाका कर्मचारीहरू मात्रै आउन पाउने उनले बताए । परिस्थिति अनुकूल भएपछि अन्य देशहरूको समेत अवस्था हेरेर नियमित उडान सुरु हुने उनले बताए