बर्दगोरिया गाउँपालिकाले जारी गरेको सूचनाको आफै अवज्ञा : खेलकुदको उद्घाटन

बौनिया– बर्दगोरिया गाउँपालिका कार्यालयले जारी गरेको सूचनाको आफैले अवज्ञा गरेको छ। कैलालीको बर्दगोरिया गाउँपालिकाले फागुन २२ गते कोरोना भाइरसको संक्रमण र सन्त्रास बढ्दै गएको भन्दै आवश्यक सतर्कता अपनाउन विद्यालयहरुलाई सूचना मार्फत आग्रह गरेको थियो ।
गाउँपालिकाले सभा, समारोह, वार्षिकोत्सव लगायतका जनभेला हुने प्रकृतिका कार्यक्रम आयोजना नगर्न, नगराउन भनेको हो ।

बिहीबार एक सूचना जारी गरि गाउँपालिका अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा आउँदो चैत्र ५ गतेसम्म संचालन गरिसक्न निर्देशन समेत दिएको थियो । तर, गाउँपालिका कार्यालय आफैले जारी गरेको यस्तो किसिमको प्रतिबन्धात्मक निर्णय तथा निर्देशनको कार्यान्वयन गर्नुको साटो आफैले उलंघन गर्न थालेको छ ।गाउँपालिकाको प्रशासनबाट जारी गरिएको आफ्नै पत्रको आशय र निर्णय विपरित शुक्रबार बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम डंगौराथारुको प्रमुख आथित्यतामा साईनिङ्ग स्टार युवा क्लबद्वारा आयोजित भलिबल प्रतियोगिताको उद्घाटन गरिएको छ । मातहतका विद्यालयलाई भेला, सभा समारोह गर्नमा रोक लगाउनु र समुदायमा रहेकोे क्लबद्वारा आयोजित कार्यक्रमको औपचारिक उद्घाटन गरि संचालनको निर्देशन दिनु आफैमा तर्क संगत नभएको कतिपयको बुझाइ छ ।

सो उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भगवतीदेवी डंगौरा, वडा नम्बर-१ का वडाअध्यक्ष जयरुप खतिवडा, वडा नम्बर-३ का वडाअध्यक्ष कर्ण सुनार, वडासदस्य टंक ओली, कोकिला खत्री  लगायतका जनप्रतिनिधि सहभागि थिए । क्लबले आयोजना गरेको राष्ट्रव्यापी खुला भलिबल प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष बलिराम डंगौराथारुले सफलताको शुभकामना व्यक्त गरे । गाउँपालिकाले आफैले एकातिर संस्था र समुदायमा सूचना जारी गरि कार्यान्वयन गर्न निर्देशन दिएको छ भने, अर्कोतिर आफैले जारी गरेको सूचना बिपरित औपचारिक सभा, समारोहमा सहभागिता जनाउनुले निर्देशनको औचित्य माथि प्रश्न उठ्न थालेको छ।

जिल्ला स्थित धनगढी उप-महानगरपालिकाले
शुक्रबार विज्ञप्ति मार्फत कोरोना भाइरस महामारीको सन्त्रासबाट ज्यादै संवेदनशील हुनुपर्ने देखिको भन्दै अर्को सूचना जारी नभएसम्म फागुन २५ गतेदेखि सबै शैक्षिक संस्था बन्द गर्न निर्देशन दिइसकेको छ । उप-महानगरपालिकाले कोरोना भाइरसको संवेदनशीलताका लागि धनगढी उप-महानगरपालिका क्षेत्रभित्र कुनैपनि किसिमका वार्षिकोत्सव, भेला, सभा, सम्मेलन, महोत्सव, उत्सवका साथै मानिसहरुको भिडभाडमा गरिने किसिमका कार्यक्रमहरु आयोजना नगर्न हुन अनुरोध गरेको छ ।

यता, ईलाका प्रशासन कार्यालय टीकापुरले समेत सभा, समारोह र गोष्ठी लगायतका मानिस भेला हुने कुनैपनि खालका कार्यक्रम नगर्न आग्रह गरेको छ । प्रशासनले स्वास्थ्य तथा सुरक्षा सतर्कता अपनाउनुपर्ने भन्दै बिहीबार आयोजक सांस्कृतिक समाजलाई पत्र पठाएर होरी पर्वका अवसरमा जारी डेउडा स्थगित गराएको हो ।

यस्तै, जिल्लाको गोदावरी नगरपालिकाको अत्तरियामा बिहीबारदेखि हुने भनिएको दोश्रो संस्करणको सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिता स्थगित भएको छ ।
पिएफए स्पोर्टस क्लब अत्तरियाको आयोजनामा बिहीबार फागुन २२ गतेदेखि २८ गतेसम्म हुने खेलको सबै तयारी पूरा भएपनि उद्घाटन हुने दिनमै प्रतियोगिता स्थगन गरिएको हो । गोदावरी नगरपालिकाले उक्त कार्यक्रम स्थगन गर्न निर्देशन दिएको थियो ।

यसअघि नेपाल सरकार शिक्षा तथा प्रविधि मन्त्रालयले फागुन २० गते सूचना जारी गरेपछि मातहतका सबै विभाग र कार्यालयले धमाधम निर्देशन दिएका हुन् ।

युवा तथा खेलकुद मन्त्रालयले समेत अर्को सूचना प्रकाशित नभएसम्मका लागि सम्भव भएसम्म खेलकुदका प्रतियोगितामा प्रतिबन्ध लगाइ सकेको छ ।