सन्दीप लामिछानेलाई २० लाख धराैटीमा आज छुट्दै
काठमाण्डाै – बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछाने धरौटीमा उच्च अदालत पाटनको आदेशमा छुट्दै छन।
लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाण्डाैकाे आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
अदालतको आदेशपछि सञ्चारकर्मीसँग कुरा गर्दै अधिवक्ता रोजकृष्ण घिमिरेले अदालतले धरौटीमा छोड्न आदेश दिएको र शुक्रवार धरौटी राखेर सन्दीप निस्किने बताउनुभयो ।
यसअघि गएको कात्तिक १८ गते काठमाण्डौ जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो । आदेशविरुद्ध सन्दीपका वकिलले उच्च अदालतमा पुनरावेदन दिएका थिए ।
सन्दीपविरुद्ध १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते जाहेरी दिएकी थिइन् भने प्रहरीले लामिछानेलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।











