फागुन २३ गतेदेखि बर्दगोरियामा खुला भलिबल प्रतियोगिता हुँदै
कार्यक्रमको बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम डंगौराबाट उद्घाटन हुने
बौनिया- साईनिङ स्टार यूवा क्लबको आयोजनामा तेस्रो संस्करण अन्तर्गतको खुला भलिबल प्रतियोगिता फागुन तेस्रो साताबाट हुने भएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर-३ खैरेनी स्थित रामजानकी मन्दिरमा प्रत्येक वर्ष फागुपूर्णीमा होली पर्वका अवसरमा आयोजना हुँदै आएको प्रतियोगितालाई यसवर्ष पनि निरन्तरता दिन लागिएको हो ।
आयोजक यूवा क्लबले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि फागुन २३ गतेबाट २८ गतेसम्म प्रतियोगिता संचालन हुने जानकारी दिएको छ । कार्यक्रमको गाउँपालिका अध्यक्ष बलिराम डंगौराथारूले उद्घाटन गर्ने बताइएको छ । प्रतियोगितामा विभिन्न क्षेत्रबाट विभागीय टोली सहितका खेलाडीको सहभागिता रहने क्लबका अध्यक्ष मिलन ओलीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
‘राष्ट्रको शान, युवा तथा खेलकुद विकासको अभियान” नारा दिइएको प्रतियोगिताको तेस्रो संस्करणमा कैलाली, कञ्चनपुर, डोटी, सुर्खेत जिल्लाका विभिन्न स्थानबाट गरि २० टीमसम्म खेलाडीको सहभागिता हुने आयोजकको अपेक्षा छ । तेस्रो संस्करण अन्तर्गतको प्रतियोगितामा आयोजकले पुरस्कार राशिमा बृद्धि गराएको छ । लिगकम नकआउट सिस्टममा खेलाइने प्रतियोगिताको विजेताले नगद ८१ हजार रुपैयाँ, उप–बिजेताले ५१ हजार रुपैयाँ र तृतीय स्थान प्राप्त गर्ने टीमले २५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ ।
यस्तै, विभिन्न विद्यामा उत्कृष्ट स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डरलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकको भनाइ छ । खेलकुद क्षेत्रको विकास तथा खेलाडी उत्पादनका लागि नियमित रूपमा प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष मिलन ओलीले बताए । क्लबले प्रतियोगिता संचालन गर्नु मात्रै नभई समाजमा सकारात्मक सन्देश दिँदै विकास र परिवर्तनका लागि समेत काम गरिरहेको ओलीले जानकारी दिए ।
सुरुका वर्षमा रामजानकी मन्दिरले प्रतियोगिता संचालन गर्दै आएको भएपनि त्यसलाई निरन्तरता दिँदै क्लबको स्थापनापछि तेस्रोपटक होली पर्वका अवसरमा आयोजना गरिने भलिबल खेलले स्थानीयबासी तथा दर्शकहरुले महत्वका साथ लिने गरेको उनले बताए । प्रतियोगितामा विगत वर्षमा बाहिरी खेलाडीको वर्चस्व हुँदा स्थानीय खेलाडीले अवसर नपाउने महसुस भएकाले यस्तो समस्यालाई मध्यनजर गरि प्रतियोगितामा एउटा टीमबाट २ जना मात्र विदेशी खेलाडी समावेश गराइने पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।
सो अवसरमा पत्रकार सम्मेलनका प्रमुख अतिथि वडा नम्बर-३ का वडा अध्यक्ष कर्ण सुनारले क्लवले संचालन गर्ने प्रतियोगिताले यसक्षेत्रको पहिचानसंगै तराईमा लोप हुन लागेको भलिबल खेलको विकास र संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले खेलकुदले यूवाको व्यक्तित्व विकास र समाजमा सकारात्मक कार्य भएको भन्दै यसकिसिमको कामका लागि स्थानीय सरकार सधैँ सहयोग गर्न तयार रहेको धारणा राखे । वडा अध्यक्ष सुनारले वडा स्तरमा आयोजना गरिने खेलकुदको बिकासका लागि योजना निर्माण गरि काम गरिने समेत बताए ।











