वर्षाका कारण महोत्सव प्रभावित : एकदिनका लागि स्थगित

गोविन्द बीसी/बौनिया- वर्षाका कारण कैलालीको लम्कीमा जारी लम्की शैक्षिक तथा पर्यटन महोत्सव प्रभावित भएको छ ।

लम्की बहुमुखी क्याम्पसद्वारा संचालित महोत्सव आज बिहानैदेखि परिरहेको वर्षाले एकदिनका लागि स्थगित गरिएको हो । गत फागुन ८ गतेदेखि १८ गतेसम्म सञ्चालन भइरहेको महोत्सव वर्षाका कारण सञ्चालन गर्न समस्या भएको भन्दै स्थगित गरिएको लम्की बहुमुखी क्याम्पसका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक बखतबहादुर विष्टले एक बिज्ञप्ती मार्फत जानकारी दिए ।

उनले बुधबारदेखि पूर्वनिर्धारित कार्यक्रम अनुसार सञ्चालन हुने बताए । क्याम्पसको स्तर उन्नति, पूर्वाधार बिकास र स्नातक तहमा प्राविधिक शिक्षातर्फको कक्षा संचालन गर्ने लक्ष्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । ‘गुणस्तरीय शिक्षाको सुनिश्चितता हाम्रो अभियान, स्वच्छ शैक्षिक एवं पर्यटन हाम्रो पहिचान’ भन्ने नारा सहित आयोजना भएको महोत्सवको माध्यमबाट यस क्षेत्रको पर्यटन प्रर्बद्धनमा समेत ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।

योसंगै महोत्सवले नेपाल भ्रमण वर्ष २०२० लाई जोड दिँदै यसक्षेत्रमा रहेका पर्यटकीय स्थल कर्णाली चिसापानी पुल, पितमारी रक गार्डेन, आमपानी पिकनिक स्थल, राजकाँडाको सुर्योदय धुलिकोट दरबार, मालिका मन्दिर, रिठे ताल लगायत धार्मिक तथा पर्यटन क्षेत्र बल्चौर धाम, चन्द्रमौलेश्वर मन्दिर, टीकापुर पार्क, घोडाघोडी ताल पर्यटकीय स्थलको प्रचारप्रसार गरि पर्यटन बिकासमा टेवा पुर्याउने उद्देश्य राखिएको छ ।

महोत्सवमा रमाईलो मेला, बाल उद्यान, विद्यार्थीद्धारा निर्मित शैक्षिक सामाग्री प्रर्दशनी, व्यवसायिक स्टल, विविध विज्ञान प्रविधि, कृषि तथा शैक्षिक सामाग्रीका, हस्तकला स्टलहरु राखिएका छन् भने, महोत्सवभित्र थारुगाउँकामा थारु समुदायका विभिन्न खानपिनका परिकारहरु राखिएका छन् । रु ३५ लाख खर्च लाग्ने अनुमान गरिएको महोत्सवबाट संकलन भएको रकम सामाजिक बिकास र क्याम्पस स्तर उन्नतिमा लगानी गरिने जनाइएको छ ।