मोहन्याल गाउँपालिकामा मुख्यमन्त्री नमूना कृषि गाउँ कृषक समन्वय समिति गठन
लिलाजंग शाही/बौनिया- कैलालीको मोहन्याल गाउँपालिकामा पालिका स्तरीय मुख्यमन्त्री नमूना कृषि गाउँ कृषक समन्वय समिति गठन गरिएको छ ।
गाउँ कृषक समन्वय समितिको अध्यक्षमा वडा नम्बर-७ का कमल शाही सर्वसम्मत चयन भएका छन् ।
जसको उपाध्यक्षमा वडा नम्बर-४ का सन्तोष कुमार बोगटी, कोषाध्यक्षमा वडा नम्बर-२ की राजुदेवी शाहीलाई चयन गरिएको छ । सदस्यहरुमा वडा नम्बर-१ का बुधराम भुल, वडा नम्बर-३ बाट देवेन्द्र पुन मगर र नृप बहादुर शाही रहेका छन् । सदस्य सचिबमा कृषिबिज्ञले तोकेको मोहन्याल गाउँपालिकाका पशु प्राविधिक शैलेन्द्रबहादुर सिंह रहने बताइएको छ ।

मुख्य मन्त्री एकीकृत कृषि तथा पशुपन्छी बिकास कार्यक्रम अन्तर्गत मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रम संचालनका लागि सुदूरपश्चिम प्रदेश सरकारले मोहन्याल गाउँपालिकाको वडा नम्बर १,२,३,४ र ७ वडालाई छनौट गरेको छ । गाउँपालिकामा मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपंछी बिकास कार्यक्रम संचालन हुने भएको छ । कार्यक्रम संचालनका लागि प्रदेश सरकारले पशुपालन, बाख्रापालनको लागि ५० लाख बजेट बिनियोजित गरेको छ ।
गाउँपालिका अध्यक्ष नवलसिंह रावलको सभापतित्वमा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य नन्दबहादुर साउँद प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुजा बुढामगर, वडा अध्यक्ष देविदत्त उपाध्याय, खरप्रसाद अधिकारी, टिकाराम भण्डारी, नवीन पुनमगर, नन्दाराम गिरी, कार्यपालिका सदस्य विशाल पहराइ, कृषक समूहका प्रतिनिधि, कृषि प्राविधिक लगायतको सहभागिता रहेको थियोे ।











