१६ वर्षमा पनि सकिएन मूलपानी क्रिकेट मैदान

काठमाडौँ – निर्माण शुरु भएको १६ वर्षसम्म पनि मूलपानीको अन्तर्राष्ट्रिय क्रिकेट मैदान सम्पन्न हुनसकेको छैन । विसं २०६० पुसदेखि मैदान निर्माण शुरु भएको थियो ।

निर्माण शुरु भएको १६ वर्षसम्म मैदानको बीचमा पर्ने जग्गाको समस्या समेत समाधान हुनसकेको छैन । क्रिकेट मैदानभित्र पर्ने जग्गा निर्माण शुरु भएको नौ वर्षपछि पनि किनबेच भयो । विसं २०६९ मा किनेको जग्गामा बनेको घर अहिले हटाउन भनिएको फूलमाया लामाले बताए।

कित्ता नं ४०१ र ४०४ को तीन आना जग्गा मैदानमा पर्ने भएपछि घर न घाटको हुने दिन आएकामा उहाँले चिन्ता प्रकट गर्नुभयो । मैदानको बीचमा ११ परिवारको ५२ आना जग्गा रहेको राष्ट्रिय खेलकूद परिषद्का तर्फबाट मूलपानीको संयोजन गरिरहनुभएका राधाकृष्ण विष्टले बताए ।

मूलपानीको २९६ रोपनी जग्गामा हाल दुई वटा मैदान अन्तिम चरणमा पुगेको उनले बताए । माथिल्लो मैदानमा गतवर्ष असारमा क्रिकेट प्रतियोगिता भएको थियो । तल्लो मैदानमा आज पहिलोपटक प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गरी १० समूह सहभागी भएको खेलकूद परिषद्सँगको सहआयोजना समूहमा रहेको नेपालय इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत आशिष प्रसाईंले बताए।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य मणिराम फुयाँलले खेलकूदमा व्यावसायिक विकास हुनुपर्ने बताए । मैदानको जग्गा शोधभर्नालगायत समस्या पनि समाधान हुनुपर्ने उनको भनाइ थियो ।

कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले नगरपालिकालाई खेलकूदको ‘हब’का रूपमा विकास गर्न लागिएको बताए । नगर क्षेत्रमा क्रिकेट मैदान, गल्फ कोर्सलगायतका महत्वपूर्ण खेलका अन्तर्राष्ट्रिय प्रतियोगिता पनि हुने गरेको उनले सुनाए ।

नेपाली काङ्ग्रेसका २ नं क्षेत्रीय सभापति उपेन्द्र कार्कीले २०६० पुस ९ गते साविकको मूलपानी गाविसका सबै राजनीतिक दलको सहमतिमा एशियन क्रिकेट एकेडेमी बनाउन स्थानीयवासीले सार्वजनिक जग्गा दिएको बताए । मैदानलाई अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगिता हुनेगरी विकास गर्नुपर्नेमा उनको जोड थियो।

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले मैदानको उद्घाटन गर्ने भनी निमन्त्रणा कार्ड बाँडिए पनि नआएका स्थानीयवासी नवराज आचार्यले दुःख व्यक्त गरे।

मैदानको बाहिरी पर्खालमा तारजाली हालिएको छैन । मैदान र प्यारापिटबाहिरको खाली भागमा झाडी देखिन्छ । मैदानसँगै स्थानीय कविता तिमल्सिनाको घर छ । यहाँबाट सार्ने भनी सार्वजनिक जग्गा दिने निर्णय गरिए पनि त्यो ठाउँमा यसअघि यहीँबाट मुआब्जास्वरुप रु दुई लाख लिएर हिँडेका सुकुम्वासीले कब्जा जमाएका छन् ।