मेस्सीले तेस्रो पटक जिते गोल्डेन बुट
काठमाडौं – स्टार स्ट्राइकर लियोनल मेस्सी लगातार तेस्रो वर्ष युरोपको सर्वाधिक गोलकर्ता बनेका छन् । उनले लगातार तेस्रो सिजन युरोपको सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जित्ने पक्का भएको हो ।
सर्वाधिक गोलकर्ताको सूचिमा दोस्रो स्थानमा रहेका फ्रान्सेली क्लब पिएसजीका युवा खेलाडी केलियन एमबाप्पेले लिग वानको अन्तिम खेलमा शुक्रबार राति आवश्यक चार गोल गर्न नसकेपछि मेस्सीले गोल्डेन बुट जित्ने निश्चित भएको हो ।
मेस्सी युरोपका शीर्ष पाँच लिगमा सबैभन्दा बढि गोल गर्ने खेलाडी बनेका हुन् । उनले गो सिजन बार्सिलोनाका लागि ला लिगामा ३६ गोल गरेका छन् ।
दोस्रो स्थानमा रहेका एमबाप्पेले शुक्रबार राति भएको रिम्ससँगको खेलमा एक गोल गरे । यो खेलमा पिएसजी ३–१ ले पराजित भयो ।
मेस्सीको टिम बार्सिलोनाले शनिबार राति कोपा डेल रे फुटबलको फाइनलमा भ्यालेन्सियासँग खेल्दैछ । लगातार तेस्रो सिजन युरोपको सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जित्ने मेस्सी पहिलो खेलाडी हुन् ।











