विश्व एडस दिवसमा अक्सबृज इन्टरनेशनल एकेडेमीद्वारा बुटवलमा सचेतना र्याली
बुटवल, १५ मंसिर। ३८ औं विश्व एडस दिवसको अवसरमा बुटवलस्थित अक्सबृज इन्टरनेशनल एकेडेमीले सोमबार सचेतना र्याली आयोजना गरेको छ। ‘अवरोधहरुलाई पार गरौं, एडस प्रतिकार्य रुपान्तरण गरौं’ भन्ने नाराका साथ विद्यार्थी, शिक्षक तथा जनप्रतिनिधिहरू सहभागी र्याली कालिकानगरदेखि राजमार्ग चौराहासम्म गरिएको थियो।
र्यालीपछि बोल्दै एकेडेमीका कार्यबहाक अध्यक्ष गोबिन्द खनालले एड्सबारे जनचेतना फैलाउने अभियानमा विद्यार्थीहरूको भूमिका अत्यन्त प्रभावकारी हुने बताए। विश्व स्वास्थ्य संगठनले मानवताका लागि एड्स नियन्त्रण अभियान चलाइरहेको उल्लेख गर्दै उनले समुदायस्तरमा सचेतना बढाउन सकिएमा यसप्रति रहेको अपहेलना हट्दै जाने विश्वास व्यक्त गरे।
सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलले विद्यार्थीमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्नु प्रशंसनीय भएको बताए। उनले “एड्स रोग होइन, समस्या मात्र हो” भनी यसको अन्त्यका लागि सबै पक्षको संयुक्त प्रतिबद्धता आवश्यक रहेको उल्लेख गरे।
एकेडेमीका प्रबन्धक निर्देशक डीपी खनालले “एडसबाट आफू पनि बचौं, अरुलाई पनि बचाऔं” भन्ने सन्देश सहित प्राविधिक शिक्षा प्रदान गर्ने संस्थाले पहिलो पटक यस्तो सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जानकारी दिए। विभिन्न सरुवाजन्य रोगबारे सिकेका ज्ञानहरू विद्यार्थीले व्यवहारमा लागू गर्नुपर्नेमा उनले जोड दिए।
विद्यार्थी अक्षता थापाले युवा पुस्ताले यस्ता रोगको रोकथाम र नियन्त्रणमा महत्वपूर्ण योगदान दिन सक्ने बताइन्। कार्यक्रमको सञ्चालन एकेडेमीका संयोजक अशोक यादवले गरेका थिए।
अक्सबृज इन्टरनेशनल एकेडेमी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) सम्बन्धन प्राप्त स्वास्थ्य क्षेत्रका कार्यक्रम सञ्चालन गर्दै आएको स्थापित शिक्षण संस्था हो।











