केरालाई वैज्ञानिक तरिकाले पकाएर पाउडर बनाउने शिलकान्तको योजना
कैलाली /स्थानीयस्तरमा उत्पादन भएका केरा सामान्यतया पकाउन समस्या हुन्छ। पाकी हाल्याे भने पनि छोटो समयमा बिग्रिन्छन। यति मात्र हाेइन बजारीकरण हुन नसक्दा खेर पनि जान्छन्। तर कैलालीका शिलकान्त झाले केराको धूलो उत्पादन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा निर्यात गरेर मनग्य आम्दानी गरिरहेका छन्। उनले केरालाई वैज्ञानिक तरिकाले पकाउने प्रविधिको विकास गरेका छन्। उनको यो कार्य किसानका समस्या समाधान गर्ने सहयाेगी बनेकाे छ।
शिलकान्तले ‘कर्णाली कृषि सेवा’ मार्फत केराबाट केराको धूलो उत्पादन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्दै आएका छन्। उनले उत्पादन गरेको केराको धूलोमा उच्च पोषण हुन्छ जुन बालबालिका र स्वास्थ्यका लागि धेरै लाभदायक मानिन्छ। उनकाे यस व्यवसायले पहिले नै प्रोटोटाइप विकास गरिसकेको छ भने ठूलो उत्पादनका लागि नयाँ योजना बनाइरहेका छन्।
‘थाइल्याण्डलगायतका अन्य देशमा अन्न र केराको पाउडर बनाएर बच्चाको लागि प्रयोग गरेको थाहा पाएपछि केरा र अन्नको प्रयोग गरेर पाउडर बनाएर बच्चालाई पाउडरको रुपमा प्रदान गर्ने योजना छ,’ उनले भने ‘सामान्य रुपमा पकाएको केरा केही दिनमा बिग्रिन्छ र बिक्री भएन भने खेर जान्छ। तर पाउडर छ महिनासम्म बिग्रिन जसका कारणले गर्दा बढी भएको र बिक्री नभएको केरा खेर जान पाउँदैन।’
त्यस्तै केरालाई वैज्ञानिक तरिकाले पकाउने प्रविधिको विकास गरेको पनि उनी बताउँछन्। स्थानीयस्तरमा केराको उत्पादन बढी भएकाले त्यही स्थानीयस्तरमा केराको खपत नहुने र बाहिरी बजारमा पठाउँदा सो बजारमा पुग्दा बिग्री सक्ने हुनाले यस समस्यालाई निराकरण गर्न यो प्रविधिको विकास गरेको उनले बताए।
‘सामान्यरुपमा पकाइएको केरा पाँच दिनमा बिग्रन्छ, जुन बजारसम्म पुग्न नपाउँदै बिग्रने गर्छ,’ उनी भन्छन् ‘तर मैले विकास गरेको प्रविधिबाट पकाइने केरा लामो समयसम्म नबिग्री बस्छ।’ उनले गाउँमा उत्पादन भएको केरोको प्रयोग गरेर त्यसलाई रक्सीको रुपमा विकास गर्नेबारे पनि अध्ययन गरिरहेका छन्।
क्यापिटल नेपाल न्युजबाट











