नेपालकी श्वेताले जितिन विश्व शारीरिक सुगठनमा रजत

काठमाडौं । थाइल्याण्डको फुकेटमा जारी १३औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा नेपालकी श्वेता कपालीले रजत पदक प्राप्त गर्न सफल भएकी छिन् ।
पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिपर्धा गर्दै कपालीले महिला मोडल फिजिक्स विधामा पदक जित्न सफल भएको टिम ब्यवस्थापक दिनेश राजभण्डारीले जानकारी बताएका छन् ।

यस पदका साथै नेपालले सहभागिता जनाएको पुरुष र महिला दुवै विधामा पदक जित्न सफल भएको छ । शुक्रबार सम्पन्न प्रतिस्पर्धामा पुरुष ६५ केजी तौल समूहमा प्रज्वलमान शाक्ले कास्य पदक जितेका थिए ।

थाइल्याण्ड शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् संघको आयोजना भएको च्याम्पियनसिप महिला मोडल फिजिक्स तर्फ फाइनल प्रवेश गर्ने क्रममा १० प्रतिपर्धीबीचबाट उत्कृष्ट ५ मा पर्दै फाइनल प्रवेश गरेकी कपालीले तीन प्रतिस्पर्धी हंगेरी, थाइल्याण्ड तथा मंगोलियाकी खेलाडीहरुलाई उछिन्दै दोस्रो स्थान प्राप्त गर्न सफल भएकी थिइन् । यस विधामा हङकङ चाइनाकी तु सुयत यान पहिलो हुँदै स्वर्ण पदक प्राप्त गर्न सफल भएकी थिइन् ।