एमाले अध्यक्ष ओलीलाई कविता फुरेपछि…

एमाले अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार व्यस्त भए । नेकपा एमालेमा चलिरहेको राजनीतिक रस्साकस्सीबीच उनी चन्द्रागिरि हिल्समा आयोजित ‘भिराडिल–चन्द्रागिरी जेसुम’ उत्सव कार्यक्रममा सहभागी भएकाले थप व्यस्त बनेका हुन् ।

कार्यक्रममा उनले भाषणका क्रममा आफ्नो भनाईहरू राखे । उनले आफूसँग  देश र जनताको सेवाबाहेक अन्य कुनै जागिर नभएको बताए । आफूलाई जतासुकै खटाएपनि काम गर्ने उनको भनाई थियो । बोल्दै गर्दा उनले हलो जोत्‍न, पर्खाल लगाउन, घर छाउन, ट्रयाक्टर चलाउन लगाए पनि पछि नपर्ने दाबी समेत गरे ।

भाषणको क्रममा उनले कविता बाचन गरे । कार्यक्रममा बस्दाबस्दै लेखेको कविता बाचन गरिसकेपछि सहभागीलाई भने, ‘यसको शीर्षक आफैं राख्‍नुहोस् ।’

आफूले लेखेको हरफलाई कविता नै हो भनेर दाबी नगर्ने तर मुक्तक भन्दा बढी मुक्त र उन्मुक्त रहेको भन्दै अध्यक्ष ओलीले माहोल रमाइलो बनाएका थिए ।  धारा प्रवाह रूपमा बाचन गर्दा उनी एक पटक भने हरफ तलमाथि परेको भन्दै अल्मलिएका थिए ।

यसअघि तीन वर्ष पहिले अध्यक्ष ओलीले चन्द्रागिरि हिल्समा ‘सपनामा भावी सन्तती मुस्कुराएको देख्‍न पाउँ’ भन्ने सन्देशको  सिर्जना गरेका थिए ।

यस्तो छ अध्यक्ष ओलीले बाचन गरेको कविता:

इच्छुमतिको किनार, घुमेर भिराडिल

घुम्दै आइपुगियो रमणीय चन्द्रागिरि हिल

कतै इतिहास, कतै परम्परा

गौरव कतै, कतै पौरख

यहीं चन्द्रागिरिका डाँडाहरूतिर

सतिदेवी बोकेर  काँधमा शोकमग्‍न शिवजी

यही बाटो भौंतारिएका थिए

जहाँ सतिदेवीको बाल अर्थात निधार खस्यो

यहीं चन्द्रगिरि हुँदै ३२ सय वर्ष अगाडि

चित्लाङबाट गोपालीहरु उपत्यका पसेका थिए

त्यहाँ आवाद गर्न, थाककोट मातातीर्थ

यहीं पृथ्वीनारायणले जुँगामा ताउ लगाएका थिए

लोभिँदै नजर फ्याँकेर उपत्यकातिर

नजिकै फाखेलको गाउँमा देवकोटाले

मानवताको बिगुल फुकेका थिए

कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो?

वाह चन्द्रागिरि ! पुराण, इतिहास र वर्तमानको पौरख

फालिएको भिरलाई गन्तव्य बनाएका छन् पौरखीहरुले

कलाको अभ्यासका कलम, कुचीहरू तिखारिँदै छन्

जेसुम अभियानहरू

चन्द्रागिरि रिसोर्टको फूलचोकी हल

सुन्दर ठाउँ, सुन्दर मानिसहरू र सुन्दर सिर्जना

चलिरहोस् जेसुम अभियान

सफल रहोस् जेसुम अभियान ।