अब कोरोनासँगै कसरी जीउने? यस्तो छ पूर्वसचिव उपाध्यायको सुझाव

ब्यक्तिगत सतर्कता र सामाजिक दूरी कायम गर्न सफल हुन सके कोरोनाबाट जोगिन सकिन्छ भन्ने सचेतना सबैमा जागृत गराएर आआफ्ना नियमित काम गर्न गराउन सकिन्छ।

कोरोना भइहाले के होला भनेर डराउनु पर्दैन । कोरोना सित हाम्रो भेट एक न एक दिन भैहाल्न पनि सक्नेछ। यस प्रकारको सकारात्मक सोच राखेर आआफ्नो  शारीरिक र मानसिक प्रतिरक्षा बढाउने र कोरोनासित लड्ने तैयारी गर्नुपर्छ ।

यद्यपि जडीबुटीहरुको सेवन गर्ने, योग प्राणायाम र नियमित व्यायाम गर्ने , पौष्टिक र संतुलित आहार खाने, व्यक्तिगत शौच र सामाजिक दूरी जस्ता अनुशासनको सही ढंगले पालन गर्ने । तपाईलाई कुनै लक्षण न होला तर तपाई भित्र पनि कोरोना बास गरेको हुन सक्छ भन्ने सकारात्मक सोच राखेर अरु व्यक्तिहरुबाट सामाजिक स्थलहरुमा आफै दूरी कायम गर्ने आदि सुव्यवहार पालन गरे कोरोना त्यति सजिलै अरुलाई फैलिन्न ।

तपाईलाई कोरोनाको लक्षण छैन भन्दैमा कोरोना पनि छैन, कोरोना मलाई सर्दा पनि सर्दैन,  म त तन्दुरुस्त छु भनेजस्तो घमण्ड गर्नु उचित हुदैन । यस्ता घमण्ड प्रदर्शन र ब्यवहारबाट तपाई भन्दा कम प्रतिरक्षा भएका व्यक्तिलाई खतरा हुन्छ । म त घर भित्रै छु कतै गएको छैन भन्दैमा कोरोनाबाट बचिन्छ र भेट हुदैन भन्ने पनि हुदैन। कोरोना बाहिरबाट आउने विभिन्न दैनिक उपयोगी अत्यावश्यक वस्तुहरुबाट पनि सर्न सक्दछ ।

सानो भूलचुकले सर्न सक्छ । जति दिन लकडाउन हुन्छ त्यो समयको सदुपयोग गरेर देशले सबै लामो समयको लागि दूरदर्शी तयारी गर्नुपर्थ्यो तर सरकार नै अलमलमा परेकोले मुलुकमा त्यस्तो खासै उपलब्धी हुन सकेको देखिएको छैन । लकडाउन गरियो तर तयारी गर्ने अमूल्य समयलाई त्यसै व्यर्थ हुन गयो ।

अहिलेको परिस्थिति र अनुमान हेर्दा कोरोनासित हामी संगसंगै लामोबाटो हिड्ने तयारी गर्नुपर्छ, अर्थतन्त्र र जनतालाई अझै यही पाराले लकडाउन गर्दा केहि फाइदा हुनेछैन ।

सबैभन्दा जरूरी सामाजिक अनुशासन, जागरुक जनता र डिसिप्लिन समाज हो। कोरोना सामाजिक स्तरमा फैलिसकेको छ । लक्षण भएका व्यक्ति भन्दा संक्रमणको लक्षण नभएकाहरुमा गैरजिम्मेवार र अनुशासनहीन व्यक्तिहरुबाट एकदम छिटो फैलिरहेको छ ।

रोगप्रतिरक्षा राम्रो भएका व्यक्तिलाई यो सामान्य रुघाखोकी, कसैलाई सामान्य ज्वरो, कसैलाई सामान्य  खोकि, कसैलाई कुनै पनि लक्षण नहुने हुन्छ। तर रोगप्रतिरक्षा कम भएकालाई निमोनिया भएर श्वसनतन्त्र बुझिएर च्याप्न पनि सक्दछ ।

अत: कोरोनालाई हल्कामा पनि लिनु हुदैन र साथसाथै एकदम डराएर मनोबल गिराउनु पनि हुदैन । निडर , जिम्मेवार र अनुशासित भयेर कोरोनासित समानान्तर जिन्दगी गुजार्ने र  आर्थिक र सामाजिक परिस्थितिलाई सामान्य तर पहिलाभन्दा धेरै अनुशासित बनाउनेतिर ध्यान दिनु नै उचित रणनीति हो।

हैनभने गरीब र भोका जनता, कमजोर अर्थतन्त्रलाई धेरै दिनसम्म  बंद गरेर लकडाउनमा राख्न ब्यावहारिन हुनेछैन र जनतामा धैर्यताको बॉध फुट्न सक्छ, यसो गर्नु कसैका लागि पनि उचित हुदैन। संक्रमणको लक्षण भएका भन्दा लक्षणहीनहरु धेरै जिम्मेवार र अनुशासित हुनु पर्छ । यति शिक्षा सबैले मनन गरे कोरोनासंगसंगै सामान्य तर बढी जिम्मेवार जीवन जिउन सकिने छ।

उपाध्याय नेपाल सरकार पूर्व सचिव हुन।