सुदृढ कांग्रेसका लागि आगामी महाधिवेशनमा गर्नैपर्ने संकल्प

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा केन्द्रीय नेतृत्वको विषयमा बढी बहस भइरहेको छ । मुलुक, कार्यकर्ता र आमजनताको आशा–भरोसा हुने भएकाले केन्द्रीय नेतृत्वका विषयमा बहस हुनु स्वाभाविकै हो । यसबारे आम सरोकारवालाले लेखेर, बोलेर अभिमत प्रकट गरिरहेकै छन् ।

यो सँगसँगै तल्लो तहको संगठनको सुदृढीकरणका बारेमा पनि छलफल हुनु आवश्यक छ । कांग्रेस विधानले व्यवस्था गरेको बुथ, वडा, क्षेत्र, जिल्ला र प्रदेशस्तरीय संगठन बलियो नभई नेतृत्व सुदृढ हुन सक्दैन । त्यसैगरी अबको नेतृत्व कस्तो हुनुपर्छ भन्ने बारेमा तल्लो तहदेखि नै गम्भीर हुनुपर्छ ।

महाधिवेशनको आधार तयार गर्न अहिले क्रियाशील सदस्यता वितरण र नवीकरणको प्रारम्भिक कार्य अगाडि बढेको छ ।

विधानतः प्रत्येक वर्ष क्रियाशील सदस्यले आफ्नो सदस्यता नवीकरण गर्ने र एक वर्ष अगाडी साधारण सदस्यता लिएको व्यक्तिले नयाँ क्रियाशील सदस्यता लिने कुरामा चनाखो हुनुपर्नेछ । यसका लागि तत्लो तहमा जो कांग्रेसमाथि आस्था राख्दछन् तिनलाई स्वस्फूर्त क्रियाशील सदस्यता लिनका लागि उत्प्रेरित गर्न जरुरी छ ।

हिजो कांग्रेसका प्रमुख एजेन्डा निरंकुशताविरुद्ध लड्ने, राणा शासन, पञ्चायती व्यवस्था, राजतन्त्र अन्त्य गर्ने र नागरिक तथा राजनीतिक अधिकार स्थापना गर्ने थिए । आज एजेन्डा परिवर्तन भएका छन् । आम नागरिकको चेतना, आवश्यकता र आकांक्षा फेरिएका छन् ।

परम्परागत शैली र व्यवहारले बदलिँदो परिवेशमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सम्भव छैन । व्यक्ति चयनले मात्रै पुग्दैन–उसको चरित्र, पार्टीप्रतिको निष्ठा, संगठन र कांग्रेससँग फाटेका मन जोड्ने, जनसवालमा सक्रिय भई निर्वाचनमा मत पनि जाड्ने दृढ संकल्प सहितको नेतृत्व चयन गरिनुपर्दछ । जसका लागि निम्न पक्षहरुमा विशेष बहस आवश्यक छ ।

क्रियाशील सदस्य र शुभेच्छुक संघसंस्थाको रेकर्ड अध्यावधि गर्ने

विधानमा क्रियाशील सदस्यता प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था छ । तर, निर्वाचनमा मात्रै नवीकरण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ । क्रियाशीलताको रेकर्ड अध्यावधि गरी आगामी कार्ययोजना माग गर्ने परिपाटी आवश्यक छ । साथै शुभेच्छुक संघसंस्थाका नेतृत्व, त्यसमा आबद्ध भएकाहरुको विवरण अद्यावधिक गरिनुपर्छ ।

निर्वाचनमा उम्मेदवार नहुने संकल्प

पार्टीमा केहीलाई ‘लाभै लाभ र केहीलाई विलापै विलाप’ को अवस्था छ । यसर्थ नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा बुथ, वडा, प्रदेश, संघीय, क्षेत्रीय, जिल्ला र प्रदेश तहका कार्यसमितिमा बस्ने पदाधिकारी र सभापतिले आगामी पाँच वर्षसम्म कुनै पनि लाभको पदमा नबस्ने र कुनै पनि निर्वाचनमा उम्मेदवार नहुने संकल्पसहित सार्वजनिक घोषणा गर्नुपर्छ ।

दुई वा तीन पटक उम्मेदवार भई जितेका वा हारेका व्यक्तिले आगामी कुनै पनि निर्वाचनमा प्रत्यक्ष रुपमा चुनाव नलड्ने सार्वजनिक घोषणा गर्नुपर्दछ । त्यस्तै एक पटक समानुपातिक प्रणालीबाट प्रतिनिधित्व गरिसकेका नेताले सके प्रत्यक्षमा चुनाव लड्ने नभए पार्टीका लागि बाँकी समय संगठन निर्माणमा लाग्ने घोषणा गर्नुपर्दछ ।

क्षमता पहिचान गरी जिम्मेवारी

कांग्रेसमा गुट र नेतामुखी सीमित मान्छेले मात्र अवसर पाउने अवस्था छ । यसर्थ विशाल सदस्यहरुको समूहमा रहेका नेताकार्यकर्ताको क्षमता पहिचान गरी भूमिका सहितको जिम्मेवारी दिने र प्रत्येक वर्ष आमसदस्यका बीचमा समीक्षा गरी निरन्तरता दिने वा फिर्ता बोलाउने वा क्षमता वृद्धि गरी कार्यमा प्रभावकारिता ल्याउने रणनीति अख्तियार गर्न जरुरी छ ।

पाँच वर्षको क्यालेन्डरसहित नेतृत्व

कांग्रेस महाधिवेशनबाट पाँचवर्षे कार्यकालमा गरिने कार्यहरुको वार्षिक क्यालेन्डरका आधारमा नेतृत्व चयन गर्नुपर्छ । प्रत्येक वर्ष संगठनको तहगत रुपमा संलग्न पार्टीका सदस्यहरुबीच छलफल गरी संगठन सुदृढीकरण मार्गदर्शनसहितको परिपाटी निर्माण गरिनुपर्दछ ।

चार वर्ष पूरा हुनेबित्तिकै आमागी नेतृत्वका लागि मार्गप्रशस्त गर्न अधिवेशनका प्राविधिक कार्य अगाडि बढाउने सुनिश्चितता खोजिनुपर्दछ ।

मध्यस्थता र हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने नेतृत्व

पार्टीमा गुटगत, स्वार्थगत र अन्य ससाना कुरामा कार्यकर्ता र नेतृत्व तहमा बेमेल छ । महाधिवेशनमा यस्ता क्रियाकलाप देखिनु कतिपयले स्वाभाविक मान्दछन् तर, यसको प्रभाव लामो समयसम्म रहनु राम्रो होइन । विगतमा भएका स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा विभिन्न कारणले नेता कार्यकर्ताबीच मतभेद देखियो ।

फेरि त्यस्ता मतभेद नदेखिने र देखि हालेमा तिनको सही व्यवस्थापन, निराकरण र संगठनमा गतिशीलता प्रदान गर्ने अठोट सहितको नेतृत्व महाधिवेशनले चयन गर्नु पर्दछ ।

नयाँ आशा र उत्साह सञ्चार गर्ने नेतृत्व

विगत निर्वाचनमा पराजित पार्टीलाई जनतासँग ‘रिकनेक्ट’ गरी आगामी स्थानीय र आमनिर्वाचनमा जाने योजना र कार्यक्रमसहितको नेतृत्व छान्न १४ औं महाधिवेशन सुनौलो अवसर हो ।

कयौं चुनौतीका बावजुद पनि बीपी कोइराला कुनै न कुनै माध्यमबाट निरन्तर रुपमा जनतासँग सम्पर्कमा रहन्थे । फलस्वरुप राणाशासनको अन्त्य गरी २०१५ सालमा पार्टीको दुई तिहाइको सरकार निर्माण भयो । पार्टी संरचनामा सबै वर्ग, जात र भुगोलको प्रतिनिधित्व सम्भव भयो । मन्त्रिमण्डल पनि त्यहीअनुरुप बन्यो ।

गणेशमान सिहले कांग्रेसको मात्र नभई बृहत एकताको माध्यमबाट पञ्चायती व्यवस्थाको अन्त्यमा भूमिका खेले । किसुनजीले २०४७ सालको संविधान छोटै समयमा दिन नेतृत्व गरे ।

जसरी हिंसाको राजनीतिसहित बन्दुक बोकेको माओवादी र प्रजातन्त्रका लागि खतराको रुपमा रहेको निरंकुश राजतन्त्र अन्त्यका लागि गिरिजाप्रसाद कोइरालाले तत्कालीन सात राजनीतिक दल र विद्रोही माओवादी समेतको नेतृत्व गरी गणतन्त्रको बाटोसम्म ल्याए । सुशील कोइरालाको नेतृत्वमा कांग्रेसले संविधान दियो ।

कांग्रेसले कहिले निर्वाचन हार्यो र कहिले जित्यो पनि । तर, आमजनताको आशालाई निराशामा परिणत हुन दिएन । इतिहासले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्यो । यसर्थ पार्टीभित्र निर्वाचन जित्ने जोडघटाउ भन्दा माथि उठेर अबको महाधिवेशनमार्फत फेरि एकपटक जनतामा पार्टीलाई रिकनेक्ट हुने गरी स्थानीयदेखि केन्द्रीय तहसम्मको नेतृत्व चयन गरिनुपर्छ ।

सहमतिमा नेतृत्व चयन

कोभिड-१९ का कारण नेपाली कांग्रेसको महाधिवेशनको कार्यतालिकामा केही परिवर्तन हुने निश्चित छ । तर, संविधानतः राजनीतिक दलको वैधताको बाध्यात्मक अवस्था पनि सन्निकट छ ।

केन्द्रमा पहिलो पुस्ताका नेताहरुले अभिभावकत्व ग्रहण गरी सहमतिमै नेतृत्व हस्तान्तरण गर्ने र स्थानीय तहमा पनि पार्टीका सबै नेतृत्व चयन प्रक्रिया सहमतिमै गर्ने अवस्था बनाएमा आगामी स्थानीय तहको निर्वाचन पार्टीका पक्षमा पार्न र कार्यकर्तामा एकता कायम गर्न सहज हुनेछ ।

अन्तमा, अहिलेको बेथिति, लामो संघर्षपछि स्थापित व्यवस्थामाथि नागरिकको मोह भंग हुने भय र कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले राज्यशक्तिको चरम दुरुपयोग गरिरहेको अवस्थाबाट मुक्तिका लागि पनि कांग्रेस बैचारिक रुपमा गतिशील र सांगठनिक रुपमा सबल हुन जरुरी छ ।

त्यसका लागि आमकार्यकर्ताले मात्रै नभई जनताले पनि पत्याउने र भरोसा गर्ने नीति र नेतृत्व स्थापित गर्न महाधिवेशनको उपयोग गर्न सक्नुपर्दछ । जनतासँग घनिष्ट सम्बन्ध पुनर्स्थापित गर्न, राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा कांग्रेसको छवि थप उँचो बनाउन पनि स्थानीय तहदेखि केन्द्रीय नेतृत्वसम्म आमूल परिवर्तन र रुपान्तरण आवश्यक छ । यसमा आमनेता तथा कार्यकर्ता सजग हुनैपर्छ ।

(लेखक तरुण दलका निवर्तमान केन्द्रीय सदस्य हुन्)