अभिनेत्रीलाई असभ्य गालीको पिरलो
केही दिनअगाडि निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले अभिनेता राजेश हमालको ‘महानायक’ उपाधिमाथि प्रश्न गरिन् । उक्त अभिव्यक्तिपछि दीपालाई धेरैले गाली गरे । उनलाई गरेको गाली तल्लो स्तरका पनि थिए । जसका कारण दीपा डिप्रेसनमा नै पुगिन् ।
अहिले नेपाली कलाकारहरूको फेसबुक दीपाश्रीमय भएको छ । धेरैले दीपाश्रीलाई गाली नगर्न आग्रह गर्दै फेसबुकमा स्टाटस लेखिरहेका छन् । धेरैले अब दीपालाई मायाको जरूरी भएको लेखेका छन् ।
तर, कतिपय अभिनेत्रीहरूलाई भने दीपाको पक्षलाई लिएर बोल्न पनि गाह्रो भएको उल्लेख गरेका छन् । दीपालाई आएको जस्तै तल्लो स्तरको गाली आफूलाई पनि आउने डरले अभिनेत्रीहरू बोल्न डराएका छन् । त्योमाथि पनि उनीहरूको परिवारले उनीहरूलाई रोकिरहेका छन् ।
आफ्नी आमाले अहिलेसम्म रोकेको बताउँदै केकीले लेखेकी छन्, ‘सामाजिक सञ्जाल नहेर्ने मेरी आमा अहिले बारम्बार मैले केही लेखिहाल्छु कि वा गाली पाउँछु कि भनेर फेसबुक हेरिरहनुभएको हुन्छ । उहाँले मलाई नलेख्न आग्रह गरिरहनुभएको छ ।’
त्यही पनि उनले ब्यङ्ग्यात्मक हिसाबमा केही थप लेखेकी छन् । उनी लेख्छिन्- ‘गल्ती त हाम्रै हो नि दीपा दि, पहिलो गल्ती त तपाईं छोरी भएर जन्मिनुभयो । ल त्यसमा हाम्रो केही चल्दैन, अनि फेरि तपाईं सफलचाहिँ किन हुनुभयो ? ल त्यो पनि पचाउने प्रयास गरूँला । अनि फेरि तपाईंले भयङ्कर गर्नुभयो के, होइन आफ्नो भनाइ अनि विचार किन राखेको भन्या के ? अनि फेरि तपाईंले कसैको चित्त नदुखाउन माफी मागेर अति गर्नुभयो । यो त पराकाष्ठा नै भैगो नि !’
केकीले यहाँ दीपा, पूजा र वर्षालाई गल्ती गर्ने छुट नभएको भन्दै अर्को ब्यङ्ग्य प्रहार गरेकी छन् । ‘गल्ती मान्छेबाट पो हुन्छ त, माफी मान्छेलाई पो दिइन्छ त । अनि थाहा पाईपाई यत्रो अपराध गरिदिने ? हामीलाई त्यस्तो अनुमति छ र ?’, केकीले प्रश्न गरेकी छिन् ।
केकीको यस स्टाटसलाई शेयर गर्दै स्वस्तिमाले पनि आफ्नी आमाबाट आफूलाई केही नलेख्न आदेश आइरहेको बताएकी छन् । उनले लेखेकी छन्, ‘मेरी आमाले फेसबुकभरि के आइरहेको त्यो ? मेरो छोरीको चाहिँ त्यस्तो केही नआओस् है भन्नुभयो । मैले पहिलो पटक आमाको बोलीमा डर महसुस गरेँ ।’











