केकी भन्छिन्- ‘चलचित्र क्षेत्रमा फिल्टर हुने निश्चित छ’

नायिका केकी अधिकारीलाई घर बस्ने फुर्सद विरलै मिल्थ्यो । कहिले चलचित्र, कहिले म्युजिक भिडियो । उनको दिनचर्या छायाङ्कन सेटमा नै बितिरहेको हुन्थ्यो ।

तर, कोरोनाका कारण देश पूर्ण रूपमा लकडाउन हुँदा केकी घरमा थुनिएर बस्न बाध्य परिन् । लामो घरबाट बाहिर ननिस्किएकी केकी अहिले भने आक्कलझुक्कल बाहिर निस्किन थालेकी छन् ।

केकी लकडाउनले आफूलाई निकै फाइदा भएको बताउँछिन् । आफ्नोबारे सोच्न मौका पाएको र परिवारसँग समय बिताउन पाएकोमा केकी दङ्ग नै छिन् । केकी भन्छिन्, ‘म त कामले दौडिँदादौडिँदै आराम गर्न पनि पाएकी थिइनँ । लकडाउनले त मलाई आराम गर्ने मौका पाे दिएको छ ।’

लकडाउनमा केकीले धेरै पुस्तक पढिन् । विश्वभरमा उत्कृष्ट चलचित्रहरू हेर्न पनि भ्याइन् । केकी भन्छिन्, ‘यो समय त मेरा लागि सिकाइको समय पनि भयो ।’

केकी कोरोनाका कारण चलचित्र क्षेत्र रोकिनु पनि फाइदाकै कुरा भएको बताउँछिन् । चलचित्र क्षेत्रमा अब राम्रो मान्छेहरू मात्रै बाँकी रहने उनको भनाइ छ । केकीले भनिन्, ‘आर्थिक रूपमा चलचित्र क्षेत्रले घाटा बेहोर्नुपरेको छ । त्यो दुःखकै कुरा हो । तर, अब चलचित्र क्षेत्रका नराम्रो मान्छेहरू फिल्टर हुने पक्का छ । त्यो राम्रो कुरा हो ।’

केकी चलचित्र ‘परदेशी-२’ को छायाङ्कनमा ब्यस्त थिइन्। लकडाउनका कारण उक्त चलचित्रको छायाङ्कन स्थगित भएको छ । केकी अब ‘कमेडी च्याम्पियन सिजन – २’ को तयारीमा लागेकी छन् ।