दर्शक निदाउने चलचित्रलाई मौलिक भनिएको दीपकराजको आरोप

हास्य अभिनेता दीपकराज गिरीले मौलिकताको नाममा जुन पायो त्यही चलचित्रलाई राज्यले सहयोग गर्न नहुने बताएका छन् । नेपालमा मौलिकको नाममा पटकपटक दर्शकले पुरै अस्वीकार गरेको चलचित्रलाई सरकारले आर्थिक सहयोग गर्न नहुने बताएका छन् ।

नेपालमा मौलिक चलचित्रको नाममा हलमा आधा घन्टामै दर्शक निदाउने चलचित्रलाई सरकारका तर्फबाट आर्थिक सहयोग गर्दै आएको उनले बताए । केही पत्रकार र समीक्षकले थपडी मारेका तर दर्शकले अस्वीकार गरेको चलचित्रलाई मौलिकको नाममा सरकारले आर्थिक सहयोग गर्न नहुने उनको धारणा छ ।

अभिनेता गिरीले राजधानीसँग बोल्दै भने, ‘यहाँ मौलिक चलचित्रको नाममा झोलेहरूले सरकारबाट सहुलियत लिने क्रम बढेको छ । त्यसैले, मौलिक चलचित्रको निश्चित मापदण्ड तय गरेर मात्र मौलिक सिनेमाको पहिचान गर्नुपर्छ ।’ नेपालमा आफूहरूले मौलिक चलचित्र निर्माण गर्दै आएको तर आफूहरूलाई जोकरको दर्जामा राखेर मौलिक चलचित्रलाई सम्बन्धित निकायले बेवास्ता गरेको पनि उनले बताए ।

आफूहरूले निर्माण गरेको चलचित्र वडा नम्बर ६, छक्कापन्जा, ६ माया छपक्कै मौलिक भएको तर राज्यले आफ्ना चलचित्रलाई बेवास्ता गरेको उनले बताएका छन् । आफूहरूले यी चलचित्रमा नेपालभित्रको समस्या उठाएको, यहाँको जनजीवनको कथा वाचन गरेको र आफ्ना चलचित्रलाई दर्शकले पनि त्यत्तिकै रुचाएको पनि अभिनेता गिरीले बताए । तर, दर्शकहरूले हलमा पूर्ण अस्वीकार गरेको चलचित्रलाई चलचित्र विकास बोर्डका तर्फबाट विशेष सिनेमाका नाममा सहुलियत दिएको उनले राजधानीलाई बताए ।

राज्यले मौलिक चलचित्रलाई सहयोग गर्न लागेको बेला अभिनेता गिरी त्यसको विरोध गरेको आरोप लागेको छ । तर, आफूले राज्यले मौलिक चलचित्रलाई सहयोग गर्ने घोषणाको विरोध नगरेको उनले दाबी गरे । राज्यले ल्याएको यो नीति राम्रो भएको तर यसको दुरुपयोग नहोस् भन्ने पक्षमा आफू रहेको अभिनेता दीपकले जिकिर गरे । निर्माणपछि सिनेमा हलमा दर्शकको पनि मन जितेको र विशुद्ध मौलिक चलचित्रलाई मात्र आर्थिक सहयोग गर्नुपर्ने उनले बताए । विगतमा त्यस्तो नभएको दर्शकले सिनेमा हलमा अस्वीकार गरेको चलचित्रलाई राज्यले विशेष चलचित्रको नाममा आर्थिक सहयोग गरेको यी अभिनेताको आरोप छ ।

अब कस्तो चलचित्रलाई मौलिक चलचित्र भनेर राज्यले सहयोग गर्ने भन्ने प्रश्नमा उनले भने, ‘नेपाली जनजीवनमा आधारित, यहाँको कला, संस्कृति समेटिएको, अझ नेपालका सीमान्तकृत समुदायको कथा प्रस्तुत गरिएको र निर्माण शैली पनि नेपालीपन भएको चलचित्रलाई मैले मौलिक चलचित्रको रूपमा लिने गरेको छु । यस्ता चलचित्रलाई जब दर्शकले सिनेमा हलमा रुचाउँछन् ।’ त्यस्ता चलचित्रलाई बल्ल राज्यले सहयोग गर्नुपर्ने उनले बताए । मौलिक चलचित्र भन्दैमा दर्शकले अश्विकार गरेको र हलमा १० मिनटमै दर्शक निदाउने चलचित्रलाई राज्यले सहयोग गर्न नहुने उनको तर्क छ ।

आफूले मौलिक भनेको चलचित्र विदेशी बजारमा पनि लोकप्रिय होस् र त्यस्ता चलचित्र हेरेपछि विश्वले नेपाललाई चिन्न सकोस् भन्ने उनको कथन छ । नेपाली चलचित्र कालोपोथी, पशुपति प्रसाद, झोलालाई उनले उनले मौलिक चलचित्रको उपमा दिए । यी चलचित्रलाई सिनेमा हलमा दर्शकले पनि मन पराएको र नेपाली जनजीवनमा आधारित सिनेमा भएकाले यस्तो चलचित्रको पक्षमा आफू रहेको उनले बताए । तर, पछिल्लो समय मौलिक चलचित्रको नाममा सिनेमा हलमा पूर्ण रूपमा व्यावसायिक असफल भएको चलचित्रलाई राज्यले सहयोग गरेको उनलेको आरोप छ । यस्ता चलचित्रलाई मौलिक चलचित्रको नाममा सहयोग तत्काल रोक्नुपर्ने अभिनेता निर्माता गिरीको कथन छ ।

त्यस्ता चलचित्रभन्दा आफूहरूले निर्माण गरेको चलचित्रलाई दर्शकले हलमा पूर्ण साथ दिएको र नेपाली जनजीवनमा आधारित पनि रहेको उनको कथन छ । आफ्नो चलचित्र मौलिक भएको दोहो-याँदै राज्यतर्फबाट उपेक्षा भएको अभिनेता गिरीले बताए । हास्य सिनेमा मौलिक हुन्न भन्ने पक्षको आफू विरोधी रहेको पनि उनले बताए । मौलिक भन्नासाथ निकै सुस्त हुनुपर्ने र लामालामा दृश्य भएका चलचित्र हुनुपर्ने मान्यता हामी कहाँ रहेको पनि उनले बताए । त्यसैले अब मौलिक चलचित्रको एउटा निश्चित मापदण्ड बनाएर रिलिजपछि बक्स अफिसमा सफल भएकालाई मात्र सहुलियत दिन पनि उनले सुझाव दिएका छन् ।- राजधानी दैनिकबाट