महोत्सबको आठौ दिन : बद्री पंगेनीका मर्मस्पर्शी गीतले भावुक बने दर्शक
डम्मर बुढा/बौनिया-चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनीले गाएका गीतमा दर्शक भावुक भएका छन् ।
कैलालीको बौनियामा जारी बर्दगोरिया सेतिलोकमार्ग पहिचान महोत्सवको आठौ दिन मंगलबार गायक बद्री पंगेनीले आधा दर्जन मनछुने गीत गाएर दर्शकलाई मनोरञ्जन दिए ।
जनताको मनछुने थुप्रै गीत गाएर लोकप्रिय भएका जनवादी गायक पंगेनीले समसामयिक विषयमा आधारित ‘जसको शासन आएपनि जनताको शासन आएन’ भन्ने बोलको गीत गाए ।
पंगेनीले आफ्ना बहुचर्चित गीतहरु गाएर दर्शकहरुलाई भावुक समेत बनाएका थिए । पंगेनीले आमा बिदा पाउदिन, अहिलेको सालपनी घर आउदिन, लाउ चेली सिन्दुर लाउ, निको पार हृदयको घाउ लगायतका गीतले दर्शकहरुलाई भावुक बनाएका थिए ।
रातो पछ्यौरी अनि तातो पछ्यौरी, कान्छी हे कान्छी, ससुरालीमा लगायतका गीत गाएर लोक तथा दोहोरी गायक पंगेनीले दर्शकलाई नचाएका समेत थिए ।
‘कृषि, व्यापार, संस्कृति र पर्यटनको बिकास भन्ने मूल नाराका साथ जारी महोत्सव माघ २ गतेसम्म संचालन हुनेछ ।
महोत्सवमा गायक रमेशराज भट्टराई र लोकदोहोरी गायिका तथा चर्चित उद्घोषिका रुपा घर्तीमगर लगायतले आफ्ना प्रस्तुती प्रस्तुत गरेका थिए ।
यसैगरी बुधबार चर्चित लोकदोहोरी गायक पशुपति शर्मा, देउडा गायिका रेखा जोशी लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजक बौनिया बजार ब्याबस्थापन समितिका अध्यक्ष रुपक सुनारले जानकारी दिए ।
महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई रु ५० र विद्यार्थीहरुका लागि सहुलियत रुपमा रु ४० टिकटदर कायम गरिएको छ । अपांग, अशक्त, असहाय एवम् बृद्धबृद्धालाई भने महोत्सवमा निःशुल्क प्रवेशको ब्यवस्था गरिएको अध्यक्ष सुनारले बताए ।











