बर्दगोरिया धार्मिक धाम, पर्यटन तथा सांस्कृतिक माघी मेला सुरु

गोविन्द बीसी,बौनिया । कैलालीको बर्दगोरियामा धार्मिक धाम, पर्यटन तथा सांस्कृतिक माघी मेला आजदेखि सुरु भएको छ ।”बर्दगोरिया धार्मिक पर्यटकीय धाम गुम्न जाऔं, भ्रमण वर्ष २०२० सफल पारौं” भन्ने मूल नारा सहित मेला सुरु भएको हो ।

बर्दगोरिया धार्मिक पर्यटकीय धाम, सांस्कृतिक समितिका अध्यक्ष रामबहादुर साउँदको सभापतित्वमा भएको मेलाको संघीय सांसद झपट बहादुर रावलले उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सांसद रावलले मेला, महोत्सवबाट बर्दगोरिया धार्मिक क्षेत्रको बिकास तथा पर्यटन प्रवर्द्धन हुने बिश्वास ब्यक्त गरे । जनताले जनप्रतिनिधि मार्फत बिकास, निर्माणको अपेक्षा गरि अभिभारा दिएको हुँदा उक्त जिम्मेवारी पूरा गर्न आफू प्रतिबद्ध रहेको समेत उनले बताए ।

बर्दगोरिया सेतीलोकमार्ग निर्माण, राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिचाइ परियोजना, डुडेझारी औद्योगिक बिकासका लागि काम कार्य भइरहेको बताए । रानीजमरा कुलरिया सिचाइ परियोजनाले कृषि आधुनिकीकरणको बिकास गर्दै किसानको जीवनस्तर माथि उठ्ने धारण राखे ।यस्तै, सांसद रावलले कला, संस्कृतिका नाममा बिकृति भित्रिन नहुने बताए । उनको मेला, महोत्सवमा सामाजिक बिकृति देखिएको प्रति आफू चिन्तित रहेको बताए । उनले सामाजिक बिकृति, कुरिती अन्त्य गर्न कलाकर्मी लगायत सबैले आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्नेमा बताए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सांसद नन्दबहादुर साउँदले बर्दगोरिया धामलाई सिमसार क्षेत्रको रूपमा सूचीकृत गर्न सकिने बताए । उनलेे नेपालका धेरै पर्यटन क्षेत्र मध्ये बर्दगोरियालाई पर्यटकीय गन्तव्यको रूपमा बिकास गर्न तीन तहको सरकारले पहल गरिरहेको बताए ।
यस्तै, बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम डंगौराले शिक्षा, स्वास्थ्य, खानेपानीका लागि गाउँपालिका काम अगाडी बढाएको बताए । उनले गाउँपालिकाको भवन निर्माण, २ वटा माविको भवन निर्माणका लागि डीपीआर तयार भइ निर्माणका लागि पहल भइरहेको, प्राविधिक शिक्षामा जोड दिइएको बताए । पूर्वाधारको बिकास गरि गाउँपालिकालाई नमूना गाउँपालिका रूपमा पहिचान दिने अध्यक्ष डंगौराले बताए ।

कार्यक्रममा संघीय सांसद झपट बहादुर रावललाई बर्दगोरिया धार्मिक पर्यटकीय धाम, सांस्कृतिक समितिका अध्यक्ष रामबहादुर साउँदले ४ बुँदे मागपत्र दिएका छन् ।
माग पत्रमा बर्दगोरियामा धार्मिक पर्यटकीय धाम क्षेत्रको संरक्षणका लागि ४ जना मालीको ब्यवस्था गरिनुपर्ने, पिकनिक स्थलको निर्माण गरिनुपर्ने, पार्किङ क्षेत्र निर्माण गरिनुपर्ने, मठ, मन्दिरमा २ जना पूजारीको ब्यवस्था गरिनुपर्ने उल्लेख गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष भगवतीदेवी डंगौरा स्वागत मन्तव्य राखेको कार्यक्रममा राष्ट्रिय जनमोर्चाकी रुपा आलेमगर, राप्रपाका मित्रबहादुर घर्तीमगर, कांग्रेस प्रदेश सभापति तेजप्रताप मल्ल,नेकपा बर्दगोरिया सचिव टंकराज ओलीले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन महासचिव कृष्ण बिष्ट र उद्घोषिका प्रेरणा पाण्डेले गरेकी थिइन् ।