पर्यटन प्रबर्द्धन र सेतीलोकमार्ग निर्माणका लागि पाँचौ बर्दगोरिया पहिचान महोत्सव हुँदै
गोविन्द बीसी,बौनिया । निर्माणाधिन अवस्थामा रहेको सेतीलोकमार्ग निर्माणका लागि राज्यको ध्यानाकर्षण गराउन महोत्सव हुने भएको छ ।कैलालीको बौनियामा बौनिया बजार ब्यवस्थापन समितिको आयोजानमा पाँचौ बर्दगोरिया सेतीलोकमार्ग पहिचान महोत्सव २०७६ आयोजना हुन लागेको हो ।
आगामी पौष २२ गते देखि माघ २ गतेसम्म महोत्सव हुने शनिबार पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको छ ।कृषि,ब्यापार,संस्कृति र पर्यटनको बिकास ‘निर्माणाधिन सेतीलोकमार्गको निकास’ भन्ने मूल नारा सहित हुन लागेको महोत्सवमा सुदूरपश्चिम प्रदेशका पाँच जिल्लालाई जोड्ने लोकमार्गको निर्माण र बर्दगोरिया धार्मिक पर्यटकीय क्षेत्रको विकासमा सरकारको ध्यानाकर्षण गर्न महोत्सवको आयोजना गर्न लागिएको बौनिया बजार ब्यवस्थापन समितिका अध्यक्ष रुपक सुनारले जानकारी दिए ।
बि.स. २०६६ सालमा सीमाकंन गरिएको लोकमार्गको निर्माण कार्य हालसम्म सुस्त हुँदै गएको छ । भारतीय सीमाना खक्रौलादेखि चीनको सीमाना ताक्लाकोटसम्म जोड्ने २ सय ८४ किलोमिटर लामो सेतीलोकमार्गलाई भारत र चिन जोड्ने सबैभन्दा छोटो दूरीको सडक हो । यसैको बिकास निर्माणका लागि २०७० सालदेखि सुरु भएको महोत्सव २०७४ र २०७५ मा रोकिएको थियो ।
यसअघि २०७३ सालमा चौँथोपटक बर्दगोरिया सेतीलोकमार्ग पहिचान महोत्सव आयोजना भएको थियो ।
सेतीलोकमार्ग निर्माणका लागि सरकारलाई दबाब दिने र यस क्षेत्रको सम्भावना बोकेको पर्यटकीय गन्तव्य बर्दगोरिया क्षेत्रको बिकास गर्ने लक्ष्य लिइएको छ । प्रचार प्रसारको अभाबमा पछाडी परेका पर्यटकीय स्थलको पहिचान,कृषि,उद्योग ब्यापारको बिकास तथा साँस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य सहित महोत्सवको आयोजना गर्न लागेको महोत्सव आयोजक समिति संयोजक समेत रहेका अध्यक्ष रुपक सुनारले जानकारी दिए ।
कला, संस्कृतिलाई उजार गर्न महोत्सवमा साँस्कृतिक झाँकीहरुको प्रस्तुति रहने र स्थानीय प्रतिभाको सम्मान गर्दै साँस्कृतिक क्षेत्रलाई माथि उकास्ने आफ्नो प्रयास हुने साँस्कृतिक संयोजक दिनेश भण्डारीले बताए । महोत्सवले भ्रमण बर्ष २०२० लाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने संयोजक सुनारले बताए । महोत्सबलाई करिब २ लाख दर्शकले प्रत्यक्ष रूपमा अवलोकन गर्ने र करिब ४० लाख रुपैयाँको कारोबर हुने आयोजकले अनुमान गरिएको छ ।
महोत्सव सञ्चालनका लागि करिब २६ लाख रुपैयाँ अनुमानित खर्च लाग्ने प्रचार प्रसार संयोजक हेमराज स्वारले बताए । त्यसका लागि स्थानीय सरकार लगायत बिभिन्न संस्था, ब्यापारीहरुबाट सहयोग प्राप्त हुने बिश्वास ब्यक्त गरिएको छ ।











