ब्यावसायिक बिकास र पर्यटन प्रबर्द्धनका लागि घोडाघोडी महोत्सव हुने
गोविन्द बीसी,बौनिया । ब्यवसायिक क्षेत्रको बिकास र पर्यटन प्रबर्द्धन गर्ने लक्ष्य सहित घोडाघोडी महोत्सव आयोजना हुने भएको छ ।कैलालीको सुखडमा आगामी माघ २ देखी माघ १२ गतेसम्म घोडाघोडी साङ्गीतिक तथा पर्यटन महोत्सव एवम् व्यापार मेला २०७६ हुने भएको हो।

घोडाघोडी मिडिया सञ्चार समूहको आयोजनामा महोत्सव हुन लागेको सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गरिएको छ ।“स्वास्थ्य, शिक्षा, सूचना विकासको अभियान, कृर्षि, संस्कृति र पर्यटन हाम्रो पहिचान” भन्ने नाराका साथ महोत्सवको तयारी सुरु गरिएको मूल आयोजक समितिका संयोजक हरेन्द्र चौधरीले जानकारी दिए ।
महोत्सवले कला र संस्कृतिको जगेर्ना, धार्मिक तथा पर्यटन क्षेत्रको प्रचारप्रसार र स्थानीय कृषि उत्पादनको बजारीकरणमा जोड दिएको छ । पर्यटकीय क्षेत्रहरूको पहिचान गरी पर्यटकलाई गन्तव्यसम्म पुर्याउने लक्ष्य रहेको उनले बताए ।यस क्षेत्रमा रहेका घोडाघोडी ताल, चिडिया ताल, नकरोड बुढिया ताल, घोडाघोडी धार्मिक तथा पर्यटकीय, क्षेत्र बर्दगोरिया धार्मिक क्षेत्र लगायतको प्रवर्द्धन गर्ने आयोजकले जनाएको छ ।लोकहा भौकहा ताल, कोईलही ताल, जोखर ताल, गोदावरी धाम, चिसापानी, टिकापुर पार्क लगाएको पनि महोत्सवबाट प्रचार गरिने संयोजक चौधरीले बताए ।
यस्तै, भ्रमण वर्ष २०२० लाई सफल बनाउन महोत्सव आयोजना गर्न लागिएको चौधरीले बताए । महोत्सवको माध्यमबाट पर्यटन गतिविधिहरू बढ्ने आयोजकले अपेक्षा लिएको छ ।’महोत्सवमा एक सय स्टल रहने छन् । महोत्सवभित्र भित्र रमाइलो मेला, बाल उद्यान समेत रहने बताइएको छ । उत्कृष्ट स्टल पुरस्कार, कृषि उत्पादन प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति , जनजाति तथा आदिवासी समुदायको रहन सहन र भेषभुषाको समेत प्रस्तुत गरिने छ ।
महोत्सवमा प्रतिव्यक्ति रु ५०/-, बिद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएकालाई रु ४०/- र सिजनल टिकटदर रु ३००/- कायम गरिएको छ । महोत्सव करिब ३ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ भने, १ करोड बढिको कारोबार हुने अध्यक्ष चौधरीले बताए ।संयोजक चौधरीले बचेको केही रकमबाट गरिब तथा असहाय अनाथ बालबालिकाहरूलाई सहयोग गरिने बताए ।











