वडा सचिवको लापरबाही, क्लबका अध्यक्षलाई नगद भुक्तानी

कैलाली बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का वडासचिवले क्लबलाई मनोमानी रकम भुक्तानी गरेका छन् । सोही वडामा रहेको एक क्लबलाई वडा कार्यालयबाट नगद रकम भुक्तानी गरिएको पाइएको छ । क्लबका लागि खेलकुद सामाग्री खरिद गर्ने भन्दै वडा कार्यालयले १ लाख ५० हजार रकम विनियोजन गरेको थियो । आर्थिक वर्ष २०७४/०७५ मा वडा कार्यालयले विनियोजन गरेको उक्त रकम क्लबको खातामा निकासा नगरी नगद भुक्तानी गरिएको छ । सो रकम साईनिङ स्टार युवा क्लबका अध्यक्ष गजेन्द्र बोहराले नगद बुझेका हुन् । क्लबका अध्यक्ष बोहराले क्लबका पदाधिकारीसँग छलफल नै नगरी सामान खरिदको बिल पेस गरी निकासा गरेको अन्य सदस्यले आरोप लगाएका छन् । उनीहरूले भ्याट बिल खरिद गरी क्लबका अध्यक्ष बोहराले एकलौटी आफुखुसी निर्णय गरी काम गरेको आरोप लगाएका छन् ।
क्लब दर्ता भए देखि नै अध्यक्षले गैरजिम्मेवार काम गर्दै आएको भन्दै स्थानीय युवाले यसअघि विरोध जनाउँदै आएका थिए । वडा सचिव रामभजन डंगौराले आफ्नो नाम गाउँपालिकाबाट चेक जारी भएको बताए । उनका अनुसार गाउँपालिकाबाट निकासा सो रकमको अग्रिम आयकर कट्टा गरी क्लबलाई नगद भुक्तानी गरिएको बताए । वडामा २ वटा क्लब छन् । सामाजिक सेवा र विकासको लक्ष्य बोकेका स्थानीय क्लब सामाजिक गतिविधिमा क्रियाशील नभएको स्थानीयले बताएका छन् ।
क्लबले गएको फागुन २० मा भलिबल प्रतियोगिता सञ्चालन गर्न सापटी सहयोग भन्दै शिवशक्ति ग्रामीण विद्युत् सहकारीबाट ८० हजार सापटी लिएको थियो । तर, सो हालसम्म फिर्ता गरिएको छैन । क्लब अध्यक्षलाई पटकपटक मौखिक र लिखित पत्र पठाइएको भए पनि उक्त रकम फिर्ता नभएपछि संस्था पदाधिकारीले समेत आक्रोश व्यक्त गरेका छन् । यस्तै, स्थानीय शेर बहादुर ओलीले आफ्नो पसलको रकम समेत नदिएको भन्दै विरोध गरेका छन् ।