एसईई नतिजा खस्किँदै, दुई लाख विद्यार्थीले भर्ना पाउन मुस्किल
झन्डै ४५ प्रतिशतको शैक्षिक स्तर कमजोर
०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसईईको नतिजा सार्वजनिक भएको छ। एसईईमा २५ विद्यार्थीले सबैभन्दा माथिल्लो जिपिए ४।० ल्याएका छन्। आठवटै विषयमा ९० भन्दा माथि १०० सम्म ल्याउने विद्यार्थीले मात्र जिपिए ४ पाउँछन्। यस वर्ष साधारणधारतर्फ नियमित चार लाख ५१ हजार पाँच सय ३२ र एक्जाम्टेडतर्फ २५ हजार एक सय ३२ परीक्षामा सहभागी थिए। त्यसै गरी प्राविधिकतर्फ नियमितमा आठ हजार नौ सय ६ र एक्जाम्टेडतर्फ १० जना सहभागी भएका थिए। माथिल्लो कक्षाका लागि भर्ना पाउन कठिन हुने विद्यार्थी सङ्ख्या झन्डै दुई लाख छ। नियमिततर्फ कुल चार लाख ५१ हजार पाँच सय ३२ रहेकामा जिपिए २।० भन्दा कम ल्याउने विद्यार्थी एक लाख ९५ हजार तीन सय १५ छन्। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले झन्डै ४५ प्रतिशतको शैक्षिक स्तर कमजोर रहेको र सुधार गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।











