एसईई परीक्षाको नतिजा आज सार्वजनिक आउदै (नजिता हेर्ने तरिकासहित)
माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज शनिबार सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गत चैत महिनामा सञ्चालित परिक्षाको नतिजा आज सार्वजनिक गर्ने जनाएको छ । त्यसका लागि परीक्षा नियन्त्रण कार्यालयले शनिबार दिउँसो ३ बजे बोर्ड बैठक डाकेको छ ।
परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले ३ बजे बोर्ड बैठक बस्ने र त्यसपछि ४ बजे पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए । गत चैत ८ बाट सञ्चालित यस वर्षको एसईई परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ जना विद्यार्थी सहभागी थिए । केन्द्रले परीक्षा लिने र नतिजा प्रकाशित गर्ने यो अन्तिम पटक हो । किनभने सरकारले कक्षा १० सम्मको परीक्षा सञ्चालनको जिम्मा प्रदेश तहलाई दिइसकेको छ ।
एसर्इर्इको नतिजा आइभीआर, एसएमएस र विभिन्न वेबसाइटमा हेर्न सकिन्छ। आइभीआरतर्फ नेपाल टेलिकमबाट १६०० मा फोन गरी नतिजा सुन्न सकिन्छ। एसएमएसबाट पनि नतिजा थाहा पाउन सकिन्छ। त्यसका लागि तलको सूचना हेर्नुहोला।
विभिन्न वेबसाइटबाट पनि एसर्इर्इको नतिजा हेर्न सकिने परीक्षा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ। एसर्इर्इको नतिजा शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np मा, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.npमा, परीक्षा नियन्त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np मा हेर्न सकिन्छ।
नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np र एनसेलको वेबसाइट ncell.axita.com मा पनि नतिजा हेर्न सकिन्छ। edusanjal.com र edukhabar.com मा पनि नतिजा हेर्न सकिन्छ।











