सिंहदरबारको अधिकार गाउँगाउँमा, गाउँपालिका प्रमुख सहितको जम्भो टोली सिंहदरबार खोज्न काठमाडौँमा

विकास यो वर्षमा मात्रै हुँदैन । आगामी वर्षका पनि हुन्छन्ः प्रमुख चौधरी

सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको भनिएका बेला गाउँका जनप्रतिनिधि भने जम्भो टोली लिएर सिंहदरबारको खोज्न काठमाडौँ आइपुगेका छन् । कैलालीको बर्दगोरिया गाउँपालिका प्रमुख बलीराम चौधरी, उपप्रमुख भगवती डगौरा थारु, प्रमुख प्रशासकिय अधिकृत अर्जुन सिङ कार्की सहित वडा अध्यक्ष र गाउँकार्यपालिका सदस्य गरी १५ जनाको जम्भो टोली शनिवार काठमाडौँ आएको हो । सरकारको बजेट पनि सार्वजनिक भइसकेको र आर्थिक वर्ष सकिनै लाग्दा सिहदरबारको खोजीमा काठमाडौँ आउने टोलीमा, वडा अध्यक्षहरू जयरुप खतिवडा, भिक्कु चौधरी, पुरन सिङ बीसी, श्याम कुमारी चौधरीसहितको टोली रहेको छ । टोली सँगै कार्यपालिका सदस्य गोमा विक, बुँदे बादी लगायत १५ जना रहेका छन् । आर्थिक वर्षको अन्तिममा गाउँपालिकामा जारी विकास योजना र सेवाग्राहीको चापलाई छोडेर कर्मचारीसहित जनप्रतिनिधिको टोली लाखौँ खर्चेर सुटुक्क काठमाडौँ हिडेपछि स्थानीय आक्रोसित भएका छन् । विभिन्न गाउँ तथा नगरपालिकाले आगामी वर्षका लागि गाउँ भोला तथा नगर भेला गरिरहेका बेला उनीहरू काठमाडौँ आएका हुन् । सङ्घीय संरचना अनुसार तीनै तहको निर्वाचन सम्पन्न भई प्रदेश सरकारसमेत गठन भइसकेको अवस्थामा उनीहरूको सिंहदरबार भ्रमणलाई धेरैले आलोचना गरेका छन् ।

विकास यो वर्षमा मात्रै हुँदैन । आगामी वर्षका पनि हुन्छन्ः प्रमुख चौधरी

यता भ्रमण टोलीका प्रमुख एवम् गाउँपालिका प्रमुख बलीराम चौधरीले भने आफूहरू विकासका योजना माग गर्न सिंहदरबार आएको प्रतिक्रिया दिएका छन् । उनका अनुसार गाउँकार्यपालिकाको निर्णय अनुसार अध्ययन अवलोकन भ्रमण र स्थानीय विकासका योजना मन्त्रालयमा बुझाउने कार्यक्रम अन्तरगत उक्त टोली काठमाडौँ आएको हो । सरकारले बजेट समेत सार्वजनिक गरी सकेको सम्बन्धमा तपाईँले बुझाउने ज्ञापन पत्रको औचित्य के ? भन्ने प्रश्नमा प्रमुख चौधरीले भने, “योजना भन्ने यो वर्षका मात्रै हुँदैनन् । आगामी वर्षका पनि हुन्छन् । हामीले मन्त्रालयमा जानकारी गराउने हो । विकास त जहिले पनि हुन्छ नि ।“ सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ लागि नीति तथा कार्यक्रम र बजेट समेत पारित गरिएको छ । साथै उनले अवलोकन भ्रमणका लागि गाउँ कार्यपालिकाको बैठकबाटै १० लाख बजेट छुट्याईएकोे बताए ।

वडा अध्यक्षलाई गाउँपालिका प्रमुख र वडा सदस्यलाई वडा अध्यक्षको जिम्मा

गाउँपालिका कार्यकारी अधिकृत अर्जुन सिङ कार्कीका अनुसार विभिन्न सफल नगर पालिकाको अवलोकन भ्रमण र विभिन्न मागसहित ९ वटा मन्त्रालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम अनुसार आफूहरू काठमाडौँ आएको बताए । उनले भने, “यो अवलोकन भ्रमण हो, मन्त्रालयमा विभिन्न माग लिएर ज्ञापन पत्र बुझाउने कार्यक्रम छ । यसपछि हामीले प्रदेश सरकारमा पनि ज्ञापन पत्र बुझाउने कार्यक्रम छ । त्यतीमात्र होइन केही पुराना र राम्रो गरेका नगरपालिकामा अवलोकन गर्ने योजना अन्तरगत ४ दिनको कार्यक्रम हो । बजेटको कुरा अब हेरौँ कति खर्च हुन्छ, हाम्रो अनुमान ५/६ लाख हो“।
सबै कर्मचारी र जनप्रतिनिधिसहित भ्रमणमा आउँदा सेवाग्राहीलाई समस्या पर्ला नि भन्ने प्रश्नमा उनले भने, “हामीले कार्यालयमा विभिन्न व्यक्तिलाई कार्यवाहक जिम्मेवारी दिएका छौ । गाउँपालिका प्रमुखको जिम्मा वडा नम्बर ३ का अध्यक्ष कर्ण सुनारलाई दिएका छौ । अन्य वडामा पनि वडा सदस्यलाई जिम्मा दिएका छौ । सेवा अवरुद्ध हुँदैन“ ।

औचित्य नभएको भन्दै केही सदस्यको बहिष्कार

भ्रमणमा सहभागी नभएका वडा नम्मर ६ का अध्यक्ष रामकृष्ण चौधरीले भने आफ्नो व्यक्तिगत समस्याका कारण भ्रमणमा सहभागी नभएको बताए । उनले सबै भ्रमणमा सहभागी हुदैँ काठमाडौँ पुगेका बेला आफू कार्यालयमा आउने सेवाग्राहीको सेवामा लागेको बताए । साथै अरू वडाको जिम्मा पनि आफूलाई दिइएको उनले बताए ।
यतिबेलाको यो भ्रमणको औचित्य नभएको भन्दै केही कार्यपालिका सदस्यले भने भ्रमण बहिष्कार गरेको बताएका छन् । सरकारको बजेट पनि सार्वजनिक भइसकेको अवस्थामा यो भ्रमण र ज्ञापन पत्र बुझाउने कामको कुनै अर्थ नरहेको बहिष्कार गर्ने कार्यपालिका सदस्य मध्यका एकले बताए ।
जे सुकै होस जनता कार्यालयबाट सेवा छिटो छरितो र विकास भएको हेर्न र देख्न चाहन्छन् । निर्वाचनका बेला ठुल ठुला आश्वासन बाढ्दै निर्वाचित भएका जनप्रतिनिधिको प्रत्येक क्रियाकलापमा उनीहरूले चाँसो राख्नुलाई अन्यथा लिन सहिदैन । गाउँपालिकामा राम्रो सेवा सुविधा दिन र राम्रो काम गरेका नगर एवम् गाउँपालिकाबाट केही कुरा सिक्न अवलोक गर्ने कुरा स्वाभाविक भए पनि बजेटसमेत प्रस्तुत भइसकेको अवस्थामा उनीहरूको सरकारका ९ वटा मन्त्रालयमा पुगेर ज्ञापन पत्र बुझाउने कार्य भने विरोधाभास देखिन्छ । जनताले दैनिक मेहनत गरेर तिरेको करबाट उठेको पैसा खर्चेर १५ जनाको जम्भो टोली लिएर यसरी बेला न कुबेला काठमाडौँ हिड्नुलाई भने ’काम कुरो एका तिर कुम्लो बोकी ठिमितीर’ भने जस्तै भएको छ ।